दाङ, वैशाख ४ ।
कर्णाली नदीमा डुंगा पल्टिदा बाबु छोरा बेपत्ता भएका छन । एक जना ९ बर्षीय बालकले भने पौडीएर ज्यान जोगाउन सफल भएका थिए ।
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डँुगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बेपत्ता भएका हुन ।
अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार डुँगा बिहीबार बेलुकी ६ बजेतिर पल्टिएको थियो । ढुगामा तीन बाबु छोरा सवार रहेकोमा एक जना नौं बर्षका बालक भने पौडीएर ज्यान जोगाउन सफल भएको डिएसपी खनालले बताए ।
ज्यान जोगाउन सफल उनै बालकले आफ्नो बुवा र दाजु नदी तर्ने क्रममा डुँगा पल्टिएर बेपत्ता भएको बारे सूचना दिएका थिए ।
तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित जंगलबाट बस्तु चौपायाका लागि घाँस काटेर घर तर्फ फर्किने क्रममा आँफैले निर्माण गरेको सानो काठको डुंगाबाट नदी तर्दै थिए । प्रायजसो उनीहरु सोही डुँगा बाट नदी वार पार गर्ने गर्थे ।
प्रहरीका अनुसार डुँगा बुबाले खियाइ रहेका थिए भने दुई छोरापनि त्यसमै सवार थिए । अछामका प्रहरी प्रमुख डिएसपी खनालले बेपत्ता बाबु छोराको खोजी बिहीबार बेलुकी बाटै थालिएको भएपनि हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको बताए ।
शुक्रबार सशस्त्र प्रहरीको टोलीपनि खोजीका लागि घटनास्थल तर्फ प्रस्थान गरेको डिएसपी खनालले बताए । घटनास्थल टाढा रहेको हुँदा सशस्त्रको टोली पुग्न झन्डै एक दिन लाग्ने उनले जानकारी दिए ।