
दाङ, बैशाख २ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिगतमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा छँदा सचिव अधिकारीसहित १६ जनाका बिरुद्ध शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो ।
त्यो उजुरीको अध्यनपछि उनीहरु दोषी रहेको दाबीसहित अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका –५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको उनीहरू माथि आरोप पत्रमा उल्लेख छ । शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत सम्झौताअनुसारको काम नगरी अधुरो छाड्दै भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
यो आर्थिक वर्ष २०७६ / ७७ को घटना थियो । जस्मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको खुलेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले दायर गरेको अभियोग पत्रकमा सोही रकम बराबर बिगो तथा जरिवाना सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक गरेका छन् ।
उक्त प्रकरणमा तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली,कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्रलगायतलाई दोषी मान्दै मुद्दा दायर गरिएको आयोग प्रबक्ता न्यौंपानेले बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।