तुलसीपुर, चैत १३ । तुलसीपुरका एक जना सरकारी कर्मचारी श्रीमति हत्या आरोपमा पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका –१९ का ३६ बर्षीय गोपाल वली श्रीमति हत्या आरोपमा पक्राउ परेका हु्न ।
बिहीबार बेलुका दाउरा र रड प्रहार गरि गोपालले २८ वर्षीया श्रीमति कमला वलीको घर भित्रै बिभत्स हत्या गरेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी हिरासतमा रहेका गोपाल डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृत पदमा कार्यरत थिए ।
हत्या आरोपी गोपाल यसअघि रुकुम पश्चिममा वडा सचिवको रुपमा कार्यरत थिए । उनीहरुको स्थायी घर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – १० हो । पछिल्लो केही बर्ष यता तुलसीपुरमा वली परिवार आफ्नै घर जग्गामा बस्दै आएको थियो ।
बिहीबार बेलुका करिब ६ बजेतिर घर भित्रै वन अधिकृत गोपालले श्रीमति कमला माथि आक्रमण गरि सक्त घाइते तुल्याएका थिए । गम्भीर अवस्थाकी कमलालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो ।
उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता बाबुराम बस्नेतले जानकारी दिए । त्यसपछि गोपाललाई पक्राउ गरिएको थियो ।
चैत १ गते मात्रै गोपालका भाइ कक्षा ११ मा पढ्ने १७ बर्षीय महेन्द्र वलीले रुकुम पश्चिमस्थित झोलुङ्गे पुलबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको थियो । महेन्द्रले प्रेममा धोका पाएको भन्दै पुलबाट हाम फालेका थिए ।
गोपाल भाइको काज किरियाको काम सकेर दुई दिन अघि मात्रै तुलसीपुरस्थित घरमा आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।
वन अधिकृत गोपालले श्रीमति कमला माथि घर भित्रै निर्मम तरिकाले दाउरा र रडले आक्रमण गर्ने त्रममा उनका बुवा आमा पनि घरमै रहेको खुलेको छ ।
गोपाल र कमला बाट एक छोरा र छोरी छन् ।
हत्याको कारण खुली नसकेको भएपनि आपसी शंका उपसशंकाका कारण गोपालले श्रीमतिको हत्या गरेको प्रहरीको आशंका छ ।
कमलाका आफन्तका अनुसार उनी यसअघि पनि पटक / पटक श्रीमानको आक्रमणमा परेकी थिइन । श्रीमानको यातनाका कारण उनले अदालतमा माना चामलको मुद्दापनि दिएकी थिइन । त्यो मुद्दा बिचाराधिन रहेको आफन्तले बताएका छन् ।
कमला र उनका श्रीमान गोपालका बीचमा पछिल्लो केही समय यता सुमधुर सम्बन्ध थिएन । उनी याताना पीडित महिला रहेको र यही क्रममा गोपालले निर्मम तरिकाले आक्रमण गरि घर भित्रै हत्या गरेको आफन्तले बताएका छन् ।
