दाङ, चैत ३ ।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बादी बिरुद्ध मंगलबार बिषेश अदालतमा मुद्दा दायर गरेको हो ।
यो संगै तत्कालिन नेकपा माओबादी केन्द्र बाट निर्वाचित मेयर बादी निलम्बनमा परेका छन् ।
बादीले आफ्नै नगरमा कार्यरत करार सेवाका सहायक सबइन्जिनियर मोहन शाहसँग जागिरलाई निरन्तरता दिनका लागि एक लाख घुस मागेको तथ्य पुष्टि भएको अख्तियारले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/०८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक लाख घुस लिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।
म्याद थपका लागि २०८० साउन ८ गते मेयर बादीको व्यक्तिगत बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरि दिएको बैंक भौचर पीडित शाहले प्रमाणका रुपमा पेश गरेका थिए ।
अख्तियारको अनुसन्धान बाट त्यसको पुष्टि भएको अख्तियारका प्रबक्ता सुरेश न्यौंपानेले बताएका छन् ।
बिगत ८ बर्षदेखि करार सेवामा कार्यरत शाह संग आर्थिक वर्ष २०८२/०८३ को म्याद थप गर्नका लागि फेरि पनि एक लाख माग मेयर बादीले माग गरेका थिए ।
मागेको रकम जम्मा गर्न नसकेपछि मेयर बादीले आँफुलाई सेवाबाट बर्खाष्त गरेको शाहको आरोप छ ।
मेयर विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी अख्तियारले गरेको छ।
सोही अनुरुप कैद, बिगोबमोजिम जरिवाना र घुस रकम जफत गर्न माग गरिएको छ ।
त्यस्तै मेयरलाई घुस बाफत एक लाख दिने करार कर्मचारी शाहलाई पनि अख्तियारले प्रतिवादी बनाउँदै बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।
शाह संग पनि एक लाख रुपैयाँ बिगो कायम गरि मुद्दा दायर गरिएको छ ।
