दाङ, फागुन १४ । बिबाह बन्धनमा बाँधिएको केही दिनमै श्रीमान संगै घुम्न गएको समयमा नदीमा हाम फालेर बेपत्ता महिलाको शब बिहीबार फेला परेको छ ।
फागुन ८ गते बिहान पौने ११ बजेतिर सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीकी २१ बर्षींया पुष्पाले सिंहले श्रीमान संगै घुम्न गएको समयमा भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन ।
त्यो दिन उनी श्रीमान संगै बनगाड कुपिन्डे नगरपालिका – १ जाडागौडास्थित भेरी नदीमा निर्मित बेलीब्रिज पुलमा पुगेका थिए ।
पुष्पाको शब घटनास्थलदेखि करिब २० किलोमिटर दक्षिण सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका – ९ पोखरेस्थित भेरी नदी किनारमा बिहीबार बिहान पौने १० बजेतिर फेला परेको हो ।
सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबराज भट्टराइका अनुसार पुष्पाले नदीमा हाम फाल्नु भन्दा १५ दिन पहिले मात्रै दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँका ३० वर्षीय त्रिदेव मल्ल संग बिवाह गरेकी थिइन । यी दुईले प्रेम सम्बन्ध पछि घर परिवारको सहमतिमा राजीखुसी बिहे गरेका थिए ।
बिबाह पछि माइती घर गएको समयमा पुष्पाको आग्रहमा त्रिदेव नजिकको भेरी नदीमा घुम्न गएका थिए ।
उनीहरुले आपसमा रमाउँदै टिकटकका रिलहरु बनाएका थिए । फोटो र भिडियोहरु खिचेका थिए ।
आपसी सल्लाहमा माइती घर फर्किने क्रममा पुष्पा एकाएक भेरी नदीमा हाम फालेको भन्ने बयान श्रीमान त्रिदेवले गरेको प्रहरी निरीक्षक भट्टराइले बताए । त्यो दिन पुलमा टिकटक र भिडियो बनाउनेहरु स्थानीय युवा युवति अरुपनि थिए ।
पछिपछी हिडिरहेकी श्रीमति पुष्पाले एकाएक हाम फाल्दै गरेको देखेपछि श्रीमान त्रिदेवले कराउँदै हार गुहार मागेका थिए ।
त्यसपछि बनगाड –१ का ४२ वर्षीय जितेन्द्र शाहले उद्धार गर्न जाने भन्दै नदीमा हाम फालेका थिए । तर, शाह पौडी खेल्न नसकी डुब्न थालेपछि स्थानीय थप दुई जना पौडी बाज नदीमा हाम फालेर अचेत अवस्थाका शाहको उद्धार गरेका थिए ।
अचेत अवस्थाका शाहलाई उद्धारपछि बनगाडस्थित नगर अस्पतालमा पुर्याएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि शाहलाई सुर्खेतको मेहलकुना अस्पताल लगेर उपचार भएको थियो ।
प्रहरी निरीक्षक भट्टराइका अनुसार मल्ल करिब डेढ बर्ष बिदेश बसेर पुष्पा संग बिहे गर्नकै लागि घर फर्किएका थिए । सामाजिक संजालको चिनजान पछि आपसी प्रेममा परेका उनीहरुले घर परिवारको सहमतिमा बिहे गरेका थिए ।
माइती र घर दुबै पक्ष उनीहरुको बिहेबाट खुसी राजी नै थिए । तर, बिहे पछि संगै माइती घर गएकी पुष्पाले किन एकाएक भेरी नदीमा हाम फालेकी हुन ? भन्ने कुरा खुली सकेको छैन । त्यसबारे थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक भट्टराइले बताए ।