घोराही, माघ २६ । दाङमा पुल निर्माणका लागि खनेको खाल्डाेमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।
घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-१६ सेवारखोलामा पुल बनाउनको लागि खनेको खाल्टोमा लुम्बिनी प्रदेश ०२-००१ प ११०२ नम्बरको मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका-७ निवासी मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-१७ निवासी ३९ वर्षीय कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिए ।
उनका अनुसार बिहान साढे नौ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको मोटरसाइकल सेवार खोलामा पुल निर्माणका लागि खानेको खाल्डाेमा खस्दा गम्भीर घाइतेको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइतेलाई साढे १० बजे चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।