२०८३ साउन २६ गते मङ्गलवार

राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित


दाङ,माघ ११ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता तर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित भएका हुन् ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरिन् ।


अपाङ्गता तर्फ कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गरे ।


अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे ।

यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *