
दाङ,असार ३० । पानीको धारामा धमिलो पानी मात्रै आउन थालेपछि बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपभोक्ता पानी ल्याएर मेयर कहाँ गुनासो गर्न आएका छन् ।
सोमबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई धमिलो पानी बोत्तलसहित ल्याएर स्थानीय उपभोक्ता कार्यालयमै आएका हुन । बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो पानी मात्रै आएपछि आजित उपभोक्ता गुनासो गर्न मेयर समक्ष आएका हुन । खानेपानी समितिका अध्यक्ष प्रदिप गौतमले भने पानी प्रशोधन केन्द्रमा मर्मतको काम भइरहेको बताएका थिए ।
अधिकाँस उपभोक्ताले पानीको मुहान क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गरिएपछि मुहानको पानी धमिलो आउन थालेको उनीहरुले गुनासो गरे । समितिले उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ मा सामुदायिक र निजी गरी १ हजार २ सय भन्दा बढी धारा र पानी वितरण गरेको छ ।

ती क्षेत्रका उपभोक्ताले आफुहरु धाराको धमिलो पानी पिउन बाध्य भएको भन्दै तत्काल समस्या समाधानका लागि प्रमुख पाण्डेलाई आग्रह गरेका थिए । लसीपुर–१९ का धनमाया वलीले समस्या तुरुन्त समाधान गर्न मेयर पाण्डेलाई आग्रह गरिन ।
खानेपानीको मुहानमाथि सोनापुर सिमेन्ट उद्योगले चुन ढुंगा उत्खनन् गर्दा मुहानको पानी धमिलो आउने गरेको हुँदा पानीको मुहान संरक्षण गर्नको लागि पहल गरिदिन स्थानीय उपभोक्ताले मेयर पाण्डेलाई आग्रह गरेका हुन ।
तुलसीपुर उपमहानगरपलिका १७ निवासी ज्ञानेन्द्र विश्वकर्माले समयमै समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा महामारी फैलन सक्ने संभावना औंल्याएका थिए । ‘मेयरसाप, बोत्तलको पानी हेर्नुहोस र भन्नुहोस, के यो पानी खान योग्य छ? यस्तो पानी खाए हाम्रो स्वास्थ्य विग्रहन्छ कि नाई तपाँई आँफै भन्नुहोस,’– विश्वकर्माले भने ।
धमिलो पानी बोकेर मेयर पाण्डेलाई भेट्न उपमहानगरपालिका आएका आक्रोसित उपभोक्तालाई नगरप्रमुख पाण्डेले स्वच्छ पानी पिउन पाउने नागरिकको अधिकारको रक्षाको लागि भूमिका खेल्ने आश्वासन दिएका छन् ।