घोराही, कात्तिक २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य अरुण कुमार शर्माले निजी विद्यालयमाथि चुनौतिका चाङ रहेको बताएका छन ।
शुक्रबार प्याब्सन दाङको बिस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले निजी विद्यालयमाथि बग्रेल्ती चुनौती रहेको बताएका हुन ।
‘निजी बिद्यालयले सुरुवात देखि नै समस्या भोग्दै आएका छन । चाहे स्थापनाका बेला होस वा माओबादी युद्धका बेला । निजी बिद्यालयले समस्या झेल्दै आएका छन,’ उनले भने ‘ निजी विद्यालय विभिन्न आन्दोलनको सिकार बन्दै आएका छन । राज्यमा हुने हरेक आन्दोलनको मारमा निजी विद्यालय पर्दै आएका छन ।’
शैक्षिक गुणस्तरको धरोहरको रुपमा रहेका निजी विद्यालयको समस्याप्रति राज्य गम्भीर बन्न नसकेको उनले गुणासो गरे ।
शैक्षिक गुणस्तरमा निजी विद्यालयले दिएको योगदानको उचित मुल्याङकन राज्यले गर्न नसकेको हो या गर्न नचाहेको हो ? उनले प्रश्न गरे । नयाँ आउन थालेको विद्यालय शिक्षा ऐनसमेत निजी विद्यालयको हित विपरित रहेको उनले बताए ।
जेनजी आन्दोलन पूर्व संसदमा टेबल भएको शिक्षा ऐनले निजी विद्यालयको माग सम्बोधन गर्न राज्यले नसकेको उनले गुनासो गरे ।
बन्दै गरेका ऐनहरुले निजी विद्यालयलाई तारो बनाउँदै आएको स्पष्ट रहेको भन्दै उनले विद्यालय सञ्चालक सचेत रहन जरुरी रहेको बताए ।
त्यसक्रममा प्याब्सन केन्द्रीय निवर्तमान सचिव यादव गिरी ,लुम्बिनी प्रदेशका सल्लाहाकार केशव थापा, प्याब्सन दाङका सल्लाहकार जिवनकुमार आचार्य, रेशमबहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज विष्ट लगायतले मन्तव्य राखेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा भएको बैठकमा जिल्ला उपाध्यक्ष शोभाखर भुषलको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
