तुलसीपुर, कात्तिक १९ । एक जना भारतियले दिएको नौं तोला सुनमा बाहिर मात्रै सुनको रोगन गरि भित्र जम्मै चाँदी भरिएको अवस्थामा फेला परेपछि तुलसीपुरमा केही ब्यापारी तनाबमा परेका छन् ।
२०८१ चैत १ गते भारत कलकत्ता घर बताउने अन्दाजी ७० बर्षीय मुकेश शर्माले नौं तोला सुन भन्दै १० वटा लकेट तुलसीपुरको बीरेन्द्र चोक नजिकै संचालन हुँदै आएको ‘प्रिन्स मोवाइल पसल’मा बन्धक राखेर आठ लाख रुपैंयाँ लगेका थिए ।
मोवाइल पसलका सञ्चालक तिलक बस्नेतले त्यो सुन राखेर तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय नजिकै ‘बिक्रम सुन चाँदी पसल’ संचालन गर्दै आएका ६२ बर्षीय लखपति सुनार मार्फत भुक्तानी दिएका थिए । तिलकले चेक काटेर लखपति मार्फत रकम भुक्तानी गरेका थिए ।
आठ लाख रकम पाएपछि भारतिय नागरिक शर्मा गत बैशाख पहिलो साता तिर सम्पर्क बिहिन भएका थिए ।
त्यसपछि बस्नेत र सुनार मिलेर ती भारतिय नागरिकले बन्धकी राखेको सुन लगेर सुन पसलमा चेक जाँच गर्न जाँदा बाहिर मात्रै सुनको लेपन लगाइएको र भित्र जम्मै चाँदी रहेको पाइएको थियो । नौं तोला सुनमा करिब दुई लाख जति मात्रै सुन पाइए पछि बस्नेत र सुनारले आँफुलाई शर्माले ठगी गरेको चाल पाएका थिए ।
त्यसपछि भने बस्नेतले सुनार संग आँफुले चेक मार्फत भुक्तानी दिएको आठ लाख रुपैयाँ आँफुलाई फिर्ता गर्न ताकेता गरेका थिए ।
यो घटना पछि सुनार भारतिय नागरिक शर्मालाई खोज्न भनेर छिमेकी देश भारत पुगेका थिए । झन्डै एक महिना दिन लखनउ र कलकत्ता लगाएका क्षेत्रमा खोजी गर्दा पनि शर्मा फेला नपरेपछि सुनार निराश हुँदै घर फर्किनु परेको थियो ।
उता बस्नेतले सुनार संग आँफुले भुक्तानी दिएको आठ लाखको चेक सुनार मार्फत लिइ सकेका थिए । त्यो चेकमा पैंशा नभएको हुँदा बस्नेतले सिटीजन्स बैंकमा पुगेर चेक बाउन्स गराएका थिए ।
यतिखेर बैंकले असोज मध्य तिर सुनारलाई पत्राचार गर्दै ४५ दिन भित्र रकम भुक्तानी गर्न ताकेता गरेको छ । जस्ले गर्दा सुनार अप्ठेरोमा परेका छन् । कारण बैंकले भने जति रकम भुक्तानी दिने रकम उनी संग नभएको बताउँछन् ।
बस्नेतले इलाका प्रशासन कार्यालयमा सुनार बिरुद्ध ठगी सम्बन्धि मुद्दापनि दिएका छन् । प्रशासन कार्यालयले त्यो मुद्दा प्रहरीमा पठाएको हुँदा केही समय पहिले प्रहरी सुनारलाई खोज्दै पसल सम्म पुगेको सुनारले बताए ।
तोकेको अवधिमा सुनारले आँफुले बस्नेतलाई दिएको आठ लाखको चेक नबटेमा त्यो मुद्दा प्रहरी हुँदै अदालतमा पुग्ने छ । सुनार आँफुले केही रकम पाउने लालचमा बस्नेत र शर्मालाई चिन जान मात्रै गराइ दिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् ।
बस्नेतले आँफुलाई चेक मार्फत दिएको भुक्तानी बैंकबाट पैंशा झिकेर शर्मालाई प्रदान गरेको बताउँ छन् । तर, बस्नेत भने आँफुले सुनारलाई नै विश्वास गरेको भुक्तानी दिएको भन्दै त्यो पैंशा सुनार बाटै पाउनु पर्ने बताउँदै आएका छन् ।
यो मुद्दा लिएर दुबै पक्ष तुलसीपुर उद्योग वाणिज्य संघमा पनि पुगेको स्रोत बताउँछ । बाणिज्य संघले दुबै पक्षलाई बोलाएर छलफल पनि चलाएको उपाध्यक्ष देबबहादुर केसीले बताए ।
त्यो छलफलमा सुनारले बस्नेतलाई दुई लाख दिन सहमति जनाएको भएपनि बस्नेतले त्यतिले नपुग्ने र आँफुले दिएको पुरै रकम चाहिने अडान लिएपछि कुरा मिल्न सकेको छैन ।
‘दुई लाख जतिको सुन बेच्दा हुन्छ भने अरु चाँदी बेच्दा झन्डै अढाइ लाख जति हुन्छ । त्यो बाहेक आँफुले गल्ती अनुसार थप दुई लाख रकम दिन्छु भन्दा पनि बस्नेतले मान्नु भएको छैन,’ सुनारले भने ‘ चिनजान गराइ दिनु मेरो गल्ती थियो होला र त्यसमा बस्नेतको पनि गल्ती छ त्यसैले त्यसको क्षति दुबैले बेहोर्नु पर्छ भन्ने हो ।’
बस्नेत भने आँफु प्रक्रिया पुरा भएपछि अदालत पुग्ने र अदालतले जे फैसला गर्छ आँफुलाई त्यो मान्ने हुने बताउँछन् ।
