दाङ, कात्तिक ९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएका दलित अभियानी खगेन्द्र सुनारका बिरुद्ध अदालतमा मुद्दा बिचाराधिन रहेको पाइएको छ ।
मन्त्रीको रुपमा आजै दिउँसो सपथ लिने अन्तिम तयारी गरि रहेका खगेन्द्र सुनारका बिरुद्ध जिल्ला अदालत सुर्खेतमा तोडफोड सम्बन्धि मुद्दा अझैंपनि बिचाराधिन रहेको छ ।
खगेन्द्र सुनार र मैना बिकसमेतले सुर्खेतको गुर्भाकोट नगरपालिका –८ मेहलुकना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको सम्बन्धि मुद्दा दायर गरेका थिए ।
इलाका प्रहरी कार्यालय छिन्चुमा डा. सापकोटाले सुनार बिरुद्ध मुद्दा दायर गरेका थिए । त्यो मुद्दा प्रहरी हुँदै २०८१/०३/१४ गते जिल्ला अदालत सुर्खेतमा दायर भएको थियो । सोही मुद्दाका आधारमा सुनार बिरुद्ध असार २१ गते सात दिने पक्राउ पूर्जी जारी भएको थियो ।
फेरि मंसिर ८ गते सुनारका नाममा ७ दिने र ३५ दिने पक्राउ पुर्जी अदालतले तामेली गरि पठाउन आदेश भएको थियो ।
त्यसको लामो समय पछि गत चैत १२ सुनार आँफै जिल्ला अदालत उपस्थित भएका थिए । अदालतका निमित्ति सूचना अधिकारी उज्वलदेव रावलका अनुसार न्यायाधीश वशन्तराज जोशीको इजलासले सोही दिन सुनारलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
साधारण तारेखमा छुटेपनि स्वास्थ्य संस्थमा गरेको तोडफोड र स्वास्थ्यकर्मी माथि गरेको हातपात सम्बन्धि सुनारका बिरुद्धको भने अझैं अदालतमा विचाराधिन नै रहेको अदालतका निमित्ति सुचना अधिकारी रावलले बताए ।
सुर्खेतका प्रहरी प्रमुख एसपी धिरत शाहीले पनि स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको सम्बन्धि सुनारको मुद्दा अझैं बिचाराधिन नै रहेको जानकारी दिए । सुनार बारेको अर्कौ मुद्दा काभ्रे जिल्ला अदालत, सर्बौच्च अदालतमा पनि विचाराधिन रहेको पाइएको छ ।
