२०८२ कार्तिक २५ गते मङ्गलवार

पश्चिम दाङका वनमा किराले सालका पात सखाप पारे

तुलसीपुर,असोज २६ । पश्चिम दाङमा किराले सालका पात खाएर सखाप पारेपछि वन कार्यालयले ती नष्ट गर्ने बिधि सुरु गरेको छ ।

बबई गाउँपालिका अन्तरगतका पदमपुर, शितलगैरा,पूर्व हापुरे, सीम गैरा, खयर भट्टी, चितल गैरा, पानिसवा र बाघदैला लगाएका सामुदायिक वनका सालका पातहरु किराले सखाप पारेको छ । एक प्रकारको पुतली (मौथ)ले झन्डै नौं वटा सामुदायिक वनका पातहरु खाएर स्वाहा पारेको छ ।


पदमपुर सामुदायिक वनका अध्यक्ष ज्ञान्द्रबहादुर खड्काले किराले वनमा रहेका रुखका सबै पात खाएर उजाड बनाइ दिएको बताए ।
सबै ठूला रुखका पातहरु खाइ सकेर पछिल्लो समय भूइँका ससाना बुट्यान, झाडी तथा झारपात पनि सबै सखाप पारेको उनले बताए ।

किराले स्थानीय वनमा रहेका रुखका सबै पातका साथ घाँसपनि खाएर सखाप पारेको हुँदा स्थानीय उपभोक्ता चिन्तित बनको उनले बताए । ‘गाउँ घरमा केही सामाजिक तथा धार्मिक कार्य गर्दा सालका पात चाहिन्छ,’ उनले भने ‘ तर, यतिखेर किराले ती सबै सखाप पारिदिएको छ ।

गाइ बस्तुलाई खुवाउने घाँसपनि सिध्याइ दिएपछि उपभोक्ता चिन्तित छन् ।’ पुतलीको झुस शरीर पर्दा चिलाउने समस्या देखिन थालेको उनले बताए ।

पुरन्धारा सवडिभिजन वन कार्यालय पूर्व हापुरेका प्रमुख खिमबहादुर केसीका अनुसार पुतलीले झन्डै ११ सय हेक्टर क्षेत्रफलमा रहेका सालका साथै बिभिन्न प्रजातिका रुख विरुवाका पातहरु खाएर स्वाहा पारेको बताए ।


किराले साल, सिसौ, बकाइनो, टीकका पातलगायत बुट्यानसमेत खाएर नष्ट गरेको पछि किरा नियन्त्रणमा लागि वन कार्यालयले बिज्ञप्ती मार्फत सरोकारवाला सबैमा आग्रह गरेको छ ।

मौसम परिवर्तन भएसँगै मौथ प्रजातिको पुतलीले सामुदायिक वनमा रहेको बोट विरुवाका पातहरु खाएर सखाप पार्दै गएको हुँदा चिन्ता बढेको उनले बताए । समस्या समाधान गर्न स्थानीय उपभोक्ता र डिभिजन वन कार्यालयका बीचमा मिलेर काम गरि किरा नष्ट गर्ने अभियान चलाइएको उनले बताए ।


वन कार्यालयले वनमा अत्यधिक संख्यामा रहेका त्यस्ता मौथ (पुतली) का साथै लार्भा, अण्डा नष्ट गर्न अभियान चलाउने बताए । मौथ (पुतली) का साथै लार्भा, अण्डालाई भुइमा झारेर ती बढारेर खाडल खनी गाडेर नष्ट गर्न सकिने केसीले बताए ।

त्यस्तै पानीको फोहराले हानेर ती भूइमा खसाल्ने र बढारेर जमिनमा मुनी खाडल खनेर गाड्ने, रुखको वरिपरी झिंगा ट्रयाप गर्न प्रयोग गरिने चिप्लो पट्टी रुखको डाँठ वरिपरी बाँधेर पनि नष्ट गर्न सहज हुने उनले सुझाएका छन् ।

त्यस्तै किरा भएको ठाउँमा किटनाटक औषधि छर्केर रासायिनक बिधिबाट किरा मार्न उनले स्थानीय उपभोक्तालाई आग्रह गरेका छन् ।

घोराही उपमहानगरपालिकामा – ११ मा रहेका चार वटा सामुदायिक वनमा चार वर्ष पहिले पनि यस्तै पुतली आएर बोट विरुवाका पातहरु सखाप पारेको थियो ।

केसीका अनुसार त्यतिखेर केही नमुना परीक्षणका लागि पठाएको भएपनि त्यसबारे कुनै जानकारी नआएपछि उपभोक्ताहरुले पुतलीको प्यूपा टिपेर आँफै नष्ट गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *