तुलसीपुर, असोज ८ । अघिल्ला बर्षहरु जस्तै यो बर्षको दशंैमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीुपरले खसी बोका खरिद गरेन ।
जेन–जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण यो बर्ष दाङमा खाद्यले खसी बोका खरिद नगरेको हो ।
कार्यालय प्रमुख तुलामाया लोवा आन्दोलन पछि उत्पन्न असहज परिस्थितिका कारण अघिल्ला बर्षहरु जस्तै यो बर्ष दशैंका लागि दाङमा खसी बोका खरिद प्रक्रिया रोकिन पुगेको बताइन ।
गत बर्ष दसैंका खाद्यले दाङबाट ६३ लाख ७१ हजार रुपैयाँ बराबरका खसी बोका खरिद गरि काठमाडौं पठाएको थियो ।
त्यो रकम बाट खाद्यले दाङका किसान बाट तीन सय ८६ वटा खसी–बोका खरिद गरि काठमाडौं पठाएको थियो । २०८१ सालको दशैंमा खाद्यले तीन सय ४६ वटा खसी र ४० वटा बोका खरिद गरि काठमाडौं पठाएको कार्यालय प्रमुख लावाले बताइन ।
गत वर्ष खाद्यले खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको थियो । खाद्यले गत बर्ष जिउँदो खसीको मूल्य प्रतिकेजी पाँच सय ६० र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० रुपैयाँ निर्धारण गरिएको थियो ।
यो बर्ष पनि खाद्यले खसी बोका खरिदको लागि अन्तिम निर्णय गरि रहँदा भड्किएको आन्दोलनका कारण खरिद प्रक्रिया रोक्नु परेको प्रमुख लावाले बताइन ।
देउखुरीका दुई पालिका लमही नगरपालिका र गढवा गाउँपालिकामा खरिद केन्द्र स्थापना गरि सकेपनि खाद्यले उत्पन्न परिस्थितिका कारण खसी बोकाको खरिद रोकेको थियो ।
दसैँ तिहार जस्ता पर्बहरुमा खसी–बोकाको माग सहर बजारमा उच्च रहने गर्छ । यस्तोमा ब्यापारीले बजारमूल्य मनपरी बढाउन सक्छन् ।
मूल्य नियन्त्रण गर्न सरकार आँफैले किसान बाट खसी बोका खदिर गरि सहुलेतमा बेच्ने गर्छ । यो बर्ष दाङमा खाद्यले खसी बोका खरिद नगरे पनि ब्यापारीले भने किसान बाट खरिद गरि काठमाडौं लगाएतका सहर बजारमा लगेर खसी बोका बिक्री गर्दै आएका छन् ।
जस्ले गर्दा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको छ ।
