तुफानबाबु श्रेष्ठ , तुलसीपुर,असोज ६ । नेवा देय दवु तुलसीपुर नगर समितिको रजत महोत्सवको अवसरमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
तुलसीपुरस्थित कालिकादेवी रक्त सञ्चार सेवा केन्द्रमा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए।
नेवा देय दवु तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेवा देय दवु केन्द्रीय उपाध्यक्ष नरेश कुमार राजभण्डारीले रक्तदानलाई महान् कार्यको संज्ञा दिए । उनले यस किसिमका कार्यक्रमहरूले समाजमा रक्तदानको जागरण फैलाउने कार्यमा ठूलो योगदान पुर्याउने बताए ।
उनले भने, “रक्तदानले मानिसबीचको आपसी सहयोग र सहानुभूतिलाई बढाउँछ। यो मानवताको सन्देश हो — हामी सबै एक अर्काको जीवनका लागि जिम्मेवार छौँ भन्ने भाव जगाउँछ।”
सो अवसरमा कार्यक्रम संयोजक तथा संस्थाकी उपाध्यक्ष सुदृष्टी श्रेष्ठले रक्तदानको महत्त्वबारे विस्तृत जानकारी दिँदै प्रत्येक स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता रहेको बताइन । उनले भनिन, “रक्तदान समाजप्रति गरिएको महत्वपूर्ण योगदान हो। रगत कारखानामा उत्पादन गर्न सकिँदैन, यसलाई केवल स्वेच्छिक रक्तदाताबाट मात्र प्राप्त गर्न सकिन्छ। नियमित रक्तदान गर्ने व्यक्तिहरू समाजमा जीवनदाताको भूमिका निर्वाह गर्छन्।” रक्तदान केवल सामाजिक जिम्मेवारी मात्र नभई व्यक्तिगत स्वास्थ्य र मानवीय सेवामा ठूलो योगदान हो।
यस रक्तदान कार्यक्रमले रक्त सञ्चार सेवामा रगतको अभावलाई केही हदसम्म पूरा गर्ने अपेक्षा गरिएको छ।
संस्थाका सचिव तुफानबाबु श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

