दाङ, असोज ३ ।जेनजीले गरेको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले बाँकेको डुडुवा गाउँपालिकाको कामकाजमा असहज स्थिति सिर्जना भएको पालिका प्रशासनले जनाएको छ ।
उत्पन्न असहज परिस्थितीका कारण अहिले कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएको छ ।
पालिकाका जनप्रतिनिधिले शुक्रबार सयुक्त विज्ञप्ति जारी गर्दै जेनजीको नाममा केही उच्छृंखल समूह पालिकाभित्र प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथि कुटपिट र दुव्र्यवहारको घटनाप्रति आपत्ती जनाइएको छ ।
भदौ २५ गते राति करिब साढे ८ बजेको समयमा ८/ १० जनाको समूह कार्यालयमा तोडफोड गरी कार्यालयको कागजात आगजनी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२६ गते अर्कौ समूह कार्यालयमा प्रवेश गरि अधिकृत पाण्डेयमाथि कुटपिट तथा दुव्र्यवहार गरिएको भन्दै त्यसको बिरोध गरिएको छ ।
पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य भण्डारीलाल यादव र पुर्व प्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०/३२ जनाको समुहले कार्यालयमा प्रवेश गरि कुटपिट गरेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ ।
उक्त समुहले जर्बजस्ति कार्यालयको भान्सा कोठामा प्रबेश गरि बोरी भित्रबाट मदिराका बोतल बाहिर ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल बनाएको प्रतिसमेत पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको घटना दुःखद छ । आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समुहले पालिकालाई बदनाम गर्ने गरि अतिरञ्जित कार्य गर्नु गलत हो ।’
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्यलगायत कार्यपालिका सदस्यले सयुंक्त विज्ञप्ति मार्फत जबरजस्ती कार्यालयमा ताला खोलेरे अनावश्यक रुपमा बदनाम गर्ने नियतका साथ गरेको भ्रामक प्रचारबाजी गरिएको भन्दै खेद ब्यक्त गरिएको छ ।
उक्त समुहले नै कार्यालयमा ताला लगाएको हुँदा पुगेको हानी नोक्सानी बारे एकिन भइ नसकेको उल्लेख गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले सुरक्षाको माग गर्दै हालसम्म कार्यालयको सम्पुर्ण सेवा अवरुद्ध पारेका छन् ।


