२०८३ असार २ गते मङ्गलवार

लुम्बिनी सरकारले मनायो संविधान दिवस

देउखुरी, असोज ३ ।लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ भन्ने संकल्पसहित दिवस मनाइएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलिमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी , जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने ‘लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो । यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु ।’

उनले कार्यशैली र तौर–तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै सेवा प्रवाहमा हुने ढिला सुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता रहेको बताए ।

संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प बोकेको मुख्यमन्त्री आचार्यले बताए ।


प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तराष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानूनी सुधारका कार्यलाई अगाडि बढाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।


पारदर्शी र जवाफदेही कार्यशैली, नागरिकका गुनासाहरूको समयमै सम्बोधन, मितव्ययिता र सदाचारपूर्ण आचरणलाई प्रवद्र्धन गर्दै सरकार नागरिकलाई सेवा दिन केन्द्रित रहेको उनले बताएका थिए ।


कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधान भित्रैबाट निकास खोजिनुपर्ने बताए ।

‘हाम्रो संविधान अब्बल संविधान हो । यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ,’ उनले भने ‘अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधान भित्रै गर्नुपर्छ । अब सबैले आत्मसमिक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।’

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए ।

‘सबैका आ–आफ्ना गुनासा छन । ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै समेट्न जरुरी छ । यो सबैको कर्तव्य हो । यही संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकै हो,’ उनले भने ‘सबै नेपालीलाई एक ठाउँमा ल्याउन जरुरी छ । सुशासन र विकास दिन जरुरी छ । अराजकतामा सुशासन खोज्नु जटिल हुन्छ ।’


नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका चौधरीले जेनजी आन्दोलनका नाममा घुसपैठ र आगजनी गर्नेहरुको पूर्ण छानबिन हुनुपर्ने बताए ।

अर्का पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने जोड दिए ।


‘यो संविधान दस वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गर्दैछ । यो लामो अवधि हो । धेरै परिवर्तन भइरहेका हुन्छन । अब सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्छ।’ उनले भने ‘विकासको जुन चरण हुन्छ, त्यसलाई संविधानले समेट्दै लैजानुपर्छ । नयाँ समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्दछ ।’

नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता महराले राजनीतिक अस्थिरताको अन्त्यका लागि साशकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गर्न जरुरी रहेको बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले संविधानबाटै अहिलेको परिस्थितिबाट देशले निकास पाउने बताएका थिए ।

प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभाका बिषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागीता थियो ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *