२०८३ भाद्र १० गते बुधवार

दाङमा ४७ सरकारी भवन र १८९ सवारी साधनमामा क्षति

लिलाधर वली, घोराही असोज १ । दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारी साधनमा क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी कार्यालयका २६ वटा भवन पूर्ण रूपमा र नौ वटा कार्यालयका २१ वटा भवन आंशिक रूपमा क्षति भएका छन ।

तुलसीपुरस्थित उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन/तीन वटा, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका दुई/दुई वटा भवन जलाइएका छन् ।

त्यस्तै भूमि सुधार तथा मालपोत कार्यालय घोराही, नापी कार्यालय घोराही, उच्च अदालत तुलसीपुर , लोक सेवा आयोगको कार्यालय तुलसीपुर , इलाका प्रशासन कार्यालय तुलसीपुर, जलस्रोत तथा सिँचाइ कार्यालय तुलसीपुर , आयल निगम कार्यालय तुलसीपुर , भूमि सुधार तथा मालपोत कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाको एक/एक वटा भवन पूर्ण रूपमा क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमका अनुसार घोराही उपमहानगरपालिकाका छ वटा, डिभिजन सडक कार्यालयका पाँच वटा, घरेलु तथा साना उद्योग कार्यालयका तीन वटा, बबई गाउँपालिकाका दुई वटा, घोराहीस्थित जिल्ला सरकारी वकिल कार्यालय, यान्त्रिक कार्यालय , सडक पूर्वाधार कार्यालय, जिल्ला अदाल र तुलसीपुर बसपार्क तथा टर्मिनल भवनका एक/एक वटा भवनमा आंशिक क्षति पुगेको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा राखिएका एक सय ८९ वटा सवारी साधनमा तोडफोड र आगजनी भएको छ । जस अन्तर्गत ४० वटा चारपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।


चारवटा आंशिक रूपमा क्षति भएको अवस्थामा छन् ।
प्रशासकीय अधिकृत गौतमका अनुसार एक सय ३४ वटा दुई पाङग्रे , तीनपाङग्रे एउटा र साइकल १० वटा पूर्ण आगजनीका कारण पूर्ण रुपमा ध्वस्त पारिएका छन् ।

क्षति भएका मध्य चारपाङ्ग्रै सरकारी गाडी ३३ वटा, निजी दुई वटा, टिप्पर तीन वटा, दमकल, स्काभेटर, ट्याक्टर, टेलर, लोडर, ट्याङकर एक/एक वटा जलाइएका छन् ।


आगजनीबाट सरकारी मोटरसाइकल ८४ वटा, निजी मोटरसाइकल ४७ वटा, स्कुटर तीन वटा, एउटा निजी अटो र दश वटा साइकलहरु आगजनीबाट ध्वस्त पािरएका छन् ।


प्रारम्भिक चरणमा सरकारी कार्यालयका भवन, कार्यालयमा राखिएका सरकारी तथा निजी सवारी साधनमा भएको क्षतिको विवरण मात्रै संकलन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले अहिलेसम्म संख्यात्मक रुपमा के कति क्षति भएको छ भन्ने विवरण मात्रै संकलन गरिएको छ । यसपछि आर्थिक रूपमा भएको क्षतिको विवरण संकलनको काम सुरु हुने छ ।


निजी निवास, पार्टी कार्यालयहरु, व्यावसायिक भवन र संघ संस्थाका कार्यालयमा भएको क्षतिको विवरण संकलनको काम भइ रहेको प्रशासकिय अधिकृत गौतमले जानकारी दिए ।

गोरक्ष दैनिकबाट

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *