देउखुरी, भदौ ३१ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए । बिहान ८ बजे दिवसको कार्यक्रम आयोजना गरिने भएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट भएको क्षतिको विवरण संकलनको काम जारी राखिएको छ भने सामान्य मर्मतसाम्भार गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सेवा सुचारू गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ ।
कर्मचारीहरूलाई मनोबल उच्च बनाएर सेवा प्रवाहमा जुट्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् ।
प्रदेशको प्रशासनिक केन्द्रको सुरक्षामा समुदाय स्तरबाट भएको पहल, आन्दोलनरत पक्षको संवेदनशीलता र सुरक्षा निकायको जिम्मेवार भूमिका प्रति मुख्यमन्त्री आचार्यले आभार व्यक्त गरेका छन् । मुलक भर कुनैपनि क्षति नभएको लुम्बिनी प्रदेश सरकारको कार्यालय मात्रै हो ।
