देउखुरी , भदौ २० । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन ।
लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामति सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे ।
उनले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ परिवर्तन र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार सहयोग गर्दै आएको भन्दै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताए ।
प्रदेश सरकारले नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको तथा त्यसबाट ठूलो आर्थिक भार प्रदेश सरकारले व्यहोर्नु परेको उनले बताए ।
मन्त्री मगरका अनुसार प्रदेश सरकारले २०७९/०८० मा दुई सय २४ जनालाई नौ करोड १८ लाख रुपैयाँ उपचारमा सहयोग गरिएको र आर्थिक बर्ष २०८१ /०८२ मा तीन हजार आठ सय ५१ जनालाई सहयोग गर्नु पर्दा १९ करोड उपचार सहयोगमा खर्च भएको बताएका थिए ।
स्वास्थ्य मन्त्री सारुले सबै आफ्नै स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारीको दायित्वलाई आत्मसात गर्न जरुरी छ । खानपान, आहार विहारमा विशेष ध्यान दिन जरुरी छ । खासगरी धेरै हामी नेपालीहरू मानसिक तनावमा छौं,’ उनले भने ‘ब्लड प्रेसर, सुगर, क्यान्सरजस्ता रोगहरू भयावह रूपमा अगाडि बढिरहेका छन । तीन वर्षको तथ्यांक हेर्दा पनि यी रोग तीन सय प्रतिशतले बढेका देखिन्छन ।’
प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा प्रदेश सरकारका सचिव, मुख्यमन्त्री सचिवालय, विभिन्न मन्त्रालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोग र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
