दाङ, साउन ३१ । साउन २२ गते दिउँसो एक बजेतिर तुलसीपुर बसपार्क क्षेत्रबाट चोरी भएको एउटा मोटरसाइकल फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका –५ पिपलबोटमा ‘मैना लुगा घर’ नामक फेन्सी स्टोरका सञ्चालक रामबहादुर केसीको रा ४ प ६२२८ नम्बरको मोटरसाइकल पसल अगाडि पार्किङ गरि राखेको स्थानबाट दिउँसै चोरी भएको थियो ।
चोरी भएको त्यो मोटरसाइकल साउन २८ गते दिउँसो तुलसीपुर–९ मनकामना टोलमा फेला परेको थियो ।
मोटरसाइकल चोरीको आरोपमा प्रहरीले तुलसीपुर–९ का १८ वर्षीय सिताराम महतराले प्रयोग गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
महतरालाई सोधपुछ गर्दा सोही ठाउँका १८ बर्षीय इश्वर खड्का, १८ बर्षकै विवेक शाह र २१ वर्षीय टेकेन्द्र वलीपनि पक्राउ परेका छन् । उनीहरूलाई दाजुभाइ चोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।
पक्राउ परेका चारै जना चोरी कार्यमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।
यो चोरी घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

