
तुलसीपुर, साउन २५ । तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा विस्तार गर्न यतिखेर संयुक्त सर्भेको काममा लगभग सकिने अवस्थमा पुगेको छ । दसैं लगतै बाट निर्माणको काम सुरु गर्ने तयारीमा निर्माण ब्यबसायी छन् ।
तर, तीन बर्ष पहिले तुलसीपुर – घोराही सडक खण्डका बिभिन्न चार वटा खोलाहरुमा चार लेनका पुल निर्माण गर्ने जिम्मा पाएका कतिपयले म्याद सकिनै लाग्दा हालसम्म काम नै सुरु गरेका छैनन् ।
जस्ले गर्दा यो बर्षाको सिजनमा सर्वसाधारण यात्रुले सास्ति खेप्नु परेको छ । साना सवारी साधन चालकले जोखिम युक्त यात्रा गर्नु परेको छ ।
त्यसको एउटा ज्वलन्त उदाहरण हो –तुलसीपुर उपमहानगरपालिका – ७ स्थित काला खोला अर्थात रानी घाट ।
पुल निर्माणमा बिलम्ब हुँदा बर्षाको समयमा कचबे माथिबाट बाढी बगिरहेको हुन्छ ।
तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत पर्ने काला खोला (रानी घाट) मा चार लेनको पुल निर्माण गर्ने तीन बर्ष पहिले जिम्मा शर्मा सगुन जेभी बुटवलले लिएको थियो । उस्ले २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौंतामा २०८२ भदौ २८ गते पुल निर्माणको काम सक्ने सर्त थियो ।
९० मिटर लम्बाई र २० दशमलव पाँच मिटर चौडाइ रहेको चारलेनको पुल निर्माण गर्न १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको म्याद सकिन अब एक महिना मात्रै बाँकी छ । तर, हालसम्म निर्माणको काम नै उस्ले सुरु गरेको छैन ।
सोही तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत ग्वार खोलामा पहिलै दुई लेनको पुन निर्माण भइ सकेको छ । त्यही बराबरको अर्कौ दुई लेनेको पुल निर्माण गर्ने कामको जिम्मापनि उही शर्मा सगुन जेभी बुटवलले पाएको छ ।
२०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । शर्मा सगुन जेभीले २०८२ भदौ २८ गतेभित्र पुल निर्माणको काम सक्ने उल्लेख छ । २२ करोड पाँच लाख ४७ हजार पाँच सय रुपैयाँमा उस्ले निर्माणको जिम्मा पाएको थियो ।
ग्वार खोलाको पुलको लम्बाइ दुई सय २० मिटर र चौडाइ करिब ११ मिटर छ । यो पुल पनि ठेक्का सम्झौता अनुसार म्याद सकिन अब एक महिना मात्रै बाँकी छ । निर्माण कम्पनीले हालसम्म ग्वार खोलामा पुलमा पश्चिम तर्फको एउटा फाउन्डेसनको काम मात्रै सुरु गरेको छ ।
हापुर खोलामा पुल निर्माणको जिम्मा पनि शर्मा सगुन जेभी बुटवलले नै लिएको छ । तर, हालसम्म काला खोलामा जस्तै हापुर खोलामा पनि पुल निर्माणको काम सुरु नै भएको छैन ।
हापुर खोलामा पुल निर्माणको काम २०८२ पुसमा सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । एक सय ५० मिटर चारलेन पुल निर्माण गर्नका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपैयाँमा ठेक्का लागेको थियो । सम्झौता अनुसार म्याद सकिन अब पाँच महिना जति मात्रै बाँकी छ । तीन बर्ष बितिसक्दापनि निर्माणको जिम्मा लिएको पक्षले हालसम्म काम नै सुरु गरेको छैन ।
दाङको तुलसीपुर– घोराही सडक खण्डमा निर्माण हुने पुल हेर्ने निकाय पुल सेक्टर कार्यालय नेपालगंज बाँके हो ।
कार्यालयका इन्जिनियर रामकिसुन चौधरीले आँफुले पटक / पटक पत्राचार गरेको, दर्जनौं पटक फोन सम्पर्क गरि पुल निर्माणको कामलाई अघि बढाउन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गर्दापनि काम नभएको बताए ।
काला खोला, ग्वार खोला र हापुर खोलामा चार लेनको पुल निर्माणको जिम्मा एउटै कम्पनीले पाएको छ । जस्ले अन्तिममा आएर अन्य स्थानीय ठेकेदारलाई नै काम गरि देउ भनेर गुहार्न थालेको पनि स्रोत बताउँछ ।
त्यस्तै तुलसीपुर – घोराही सडक खण्डको घोराहीस्थित सेवार खोलामा भने पुल निर्माणको काम भइ रहेको छ । सेवार खोला पुल निर्माणको जिम्मा एमएस रायमाझी कन्स्ट्रक्सन जेभीले लिएको छ ।
२०८३ जेठ २८ गतेभित्र चारलेन पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । जहाँ हालसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सेवार खोलामा ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल निर्माण हुँदै छ । २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा निर्माण कम्पनीले २०८० जेठ ३० मा ठेक्का सम्झौता गरेको थियो ।
सेवार खोलामा निर्माण कम्पनीले तीन वटा पिलर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये दुईवटा पिलर निर्माणको काम सकेको छ । अबको बर्षापछि तीब्र गतिमा काम गरेको खण्डमा समयमै पुल निर्माणको काम सकिने सक्ने संभावना छ ।
तुलसीपुर– घोराही सडक खण्डमा सेवार खोला, गुर्जे खोला, हापुर खोला, पत्रे खोला, सक्राम खोला, ग्वार खोला र काला खोलाहरु पर्छन । गुर्जे खोला, पत्रे खोला, सक्राम खोला र ग्वार खोलामा पहिलै पुल निर्माण भइ सकेका छन् ।
यो बीचमा ग्वार खोलामा पहिलेको जस्तै समानान्तर दुई लेनको पुल भने निर्माण गर्न खोजिएको छ । यी सबै खोलामा पुल निर्माण कार्य सकिएपछि तुलसीपुर– घोराही सडक खण्डमा बर्षाको समयमा पनि निर्वाध यातायात गर्न सकिने छ ।
तुलसीपुर–घोराही सडक खण्ड चारलेनमा बिस्तार गर्न निर्माणको जिम्मा लिएको कम्पनी र सडक कार्यालयका प्राविधिकले धमाधम ज्वाइन्ट सर्भेको काम गरि रहेका छन् ।
मदनभण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार तुलसीपुर– घोराही चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटरको मात्रै रहने छ । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोलपम्पसम्म मात्रै बिस्तारको काम हुने छ ।
आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फूटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ ।
तुलसीपुर – घोराही सडक खण्ड नौ दशमलव पाँच किलोमिटर सहरी क्षेत्रमा र बाँकी क्षेत्र ग्रामीण क्षेत्रमा छ । सडकको बिचमा तीन मिटरको मेडियन रहने छ । त्यो क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण गरिने छ ।
सडक बिस्तारको जिम्मा काठमाडौंको दिवारवन्दन भगवती जेभीले पाएको छ । २०८२ असार २४ गते मदन भण्डारी राजमार्ग आयोजनासँग निर्माण सम्झौता भइ सकेको छ । उस्ले काम २०८५ असार २४ गते काम सक्नु पर्ने छ ।


