२०८३ भाद्र १२ गते शुक्रवार

गोहीको आक्रमणमा परि बेपत्ता युवाको खोजी गर्न हात्ती परिचालन


बर्दिया,साउन २१ । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक गोहीको आक्रमणमा परी मंगलबारदेखि बेपत्ता भएका युवाको खोजीमा दुई वटा हात्ती बुधबार बिहानदेखि परिचालन भएका छन्।

कर्णाली नदीको भंगालो खौराहा खोलामा गोहीले झम्टेका मधुवन नपा–१ कैलाशीका १९ वर्षीय रूप मिलन थारु बेपत्ता भएका छन्।

मंगलबार साँझ करिब ५ बजे पौडी खेल्न गएका सोही ठाउँका तीन जना युवामध्ये दुई जना सकुशल निस्केका थिए।

बर्दिया निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना र नेपाल प्रहरीले राति १० बजेसम्म खोजी गर्दा फेला नपरेपछि हात्ती परिचालन गरिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख संरक्षण अधिकृत अजित तुम्फाहाम्फेले थारुको खोजी गर्न दुई वटा हात्ती परिचालन गरिएको बताए। खोलामा पानीको बहाव बढी भएकाले हात्ती परिचालन गरिएको उनले जनाए।

निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ सहायक संरक्षण अधिकृत सरोज मणि पौडेलका अनुसार खौराहा खोलामा पौडी खेलिरहेको बेला गोहीले आक्रमण गर्दा थारु बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँका प्रहरी निरीक्षक उत्तम जिसीले घटनाको अनुसन्धानसहित खोजी कार्य जारी रहेको जनाए।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *