तुलसीपुर, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि चालु आर्थिक बर्ष जत्तिकै समान बजेट ल्याएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षका लागि ३८ अर्व ९७ करोडको बजेट ल्याएको थियो । जम्मा ६ करोड बजेट कम हो ।
प्रदेश सरकारले आगामी बर्षको लागि चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत विनियोजन गरेको हो ।
प्रदेश सभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात ८.८० प्रतिशत अनुमानित बजेट प्रस्तुत गरेका हुन ।
लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनीः खुसी नागरिकको दीर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ।
आर्थिक वर्ष ०८२ /०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ।
भूमी कृषि तथा सहकारी मन्त्रालयमार्फत हुने विभिन्न कार्यक्रमका लागि उक्त बजेट पेश गरिएको हो।
कृषिको उपादकत्व र दीगो विकासका लागि ४ अर्ब ७२ करोड बजेट छुट्याइएको छ। कृषिको आधुनिकिकरण गरी व्यवसायिकरण गरि वृद्धि गर्ने लक्ष्य राखेको छ।
त्यस्तै एक दशकमा पूर्ण प्राङगारिक कृषि प्रणालीको विकासका लागि २ करोड बजेट छुट्याएको छ । १५ सय किसानको घरमै पुगेर सेवा दिन १ करोड १७ लाख बजेट छुट्याएको उल्लेख छ ।
रूपन्देही, कपिलबस्तु र दाङको तोरी र धान खेती प्रवद्धन गर्न बजेट छुट्याएको छ । किसान अनुदानका लागि २१ करोड, सिँचाई, भूमि र सहकारी क्षेत्रको विकासका लागि समेत बजेट छुट्याइएको छ।
कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, उद्यमशीलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनीकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ।