तुलसीपुर, जेठ ३०। तुलसीपुरमा कुटपिट बाट एक जना किशोर घाइते भएका छन् ।
सल्यान कपुरकोट गाउँपालिका – ३ का १८ बर्षीय प्रेम बुढाथोकी घाइते भएका छन् ।
तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि उनलाई बाँकका लागि रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता सुर्य राना मगरले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्क ओरालोमा हिडिरहेको समयमा बिहीबार दिउँसो साढे २ बजेतिर बुढाथोकीमाथि एक जनाले आक्रमण गरि भागेका थिए ।
सल्यान कपुरकोट गाउँपालिका – ३ का १८ बर्षीय किरण घर्ती संगै पैदल हिडिरहेको अवस्थामा अपरिचित दूई जना युवक आएर उनीहरुको बाटो छेकेर पैसा मागेको र पैसा नदिए पछि बुढाथोकीलाई एक्कासी निधारमा आक्रमण गरि भागेको प्रहरीले जानकारी दिएको छ ।
आक्रमण पछि साथी किरणले घाइते प्रेमलाई सिटी हस्पितल तुलसीपुरमा पुर्याएका थिए । त्यहाँ प्रारम्भीक उपचार पछि घाइते प्रेमलाई थप उपचारका लागि बेलुकी ६ बजेरित नेपालगन्ज रिफर गरिएको थियो ।
कुटपिट घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर – ७ गैरापातुका १८ बर्षीय किशोर शौरव नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।