२०८३ असार ६ गते शनिवार

गणतन्त्रको उपलब्धिलाई मिलेर संस्थागत गर्नु पर्छ – मुख्यमन्त्री आचार्य


देउखुरी , जेठ १५ । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ । प्रभात फेरि सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै दिवस मनाइएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको बताए ।

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।


गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको भन्दै उनले सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको दाबी गरे ।


प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको चर्चा गरेका थिए ।


संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका थिए ।

प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र जनताको शासन प्रणाली भएको भन्दै त्यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिएका थिए । राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको धारणा उनले व्यक्त गरे ।

पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको भन्दै यसको लक्ष्य विकास भएको बताएका थिए ।


उनले प्रदेशमा अधिकार हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको बताए । उनले भने ‘संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन । अधिकार दिन मुठ्ठी फुकाउनु जरुरी छ ।’

विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताएका थिए । उनले अधिकार मात्र नभई कर्तव्यको अभ्याससमेत आवश्यक रहेको बताएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *