दाङ, वैशाख ५ । दाङका एक जना सवइञ्जिनियरको गुल्मीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको छ ।
दाङको गढवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरीको गुल्मीको रेसुङ्गा नगरपालिका–५ लप्सीमा मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको अवस्थामा प्रहरीले सोमबार बिहान शब फेला पारेको थियो ।
सिमाघाट तम्घास तर्फ जाँदै गरेका चौधरी सवार लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक किनारको नालीमा खसेको थियो ।
गएराति साढे १० बजेतिर चौधरी दुर्घटनामा परेको अनुमान गरिएको भएपनि प्रहरीले सोमबार बिहान मात्रै खबर पाएको थियो ।
बिहान ७ ः २० बजेतिर प्रहरी घटनास्थल पुग्दा चौधरी मृत अवस्थामा फेला परेका थिए । गुल्मीका प्रहरी प्रमुख एसपी नारायणप्रशाद अधिकारीले मृतक गुल्मीको इन्द्र एमके जेबी निर्माण सेवामा कार्यरत सवइञ्जिनियर रहेको बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।