दाङ, बैशाख, २२ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच भेटवार्ता भएको छ ।
सोमबार मुख्यमन्त्री शाह र समकक्षी योगी बीच लखनउ स्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटमा सीमा क्षेत्रमा हुने लागु औषध ओसारपसार र आपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा गहन छलफल भएको थियो ।
मुख्यमन्त्री शाहले सुदुरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनवारे उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जानकारी गराएका थिए ।
दुई देशबीच सदियौ पुरानो धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ट सम्बन्ध रहेको अवस्थामा मुख्यमन्त्री स्तरिय भारत भ्रमणले दुई देश बीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो ।
मुख्यमन्त्री योगीसँगको भेटमा मुख्यमन्त्री शाहले पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडि बढ्न नसकेको अवस्था भारत सरकारले प्राविधिक लगायतको सहयोगले अन्तिम रुपमा दिन र पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।
सुदुरपश्चिम प्रदेशको विकासमा भारत सरकारले सहयोगको अपेक्षा सहित दार्चुलामा निर्माणाधिन पुल छिटो निर्माण गर्ने, वैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया चाडो शूरु गर्न आग्रह गरेका थिए ।
दुबै देशका नागरिक शिक्षा र रोजगारीका लागि एकअर्कौ देश जाने भएकाले उनीहरुको सुरक्षाका लागि सीमा क्षेत्रमा तथ्यांक संकलन गर्ने र सीमामा एकिकृत भन्सार जाँच पास राख्ने दुबैबीच छलफल भएको छ ।
तिकुनियाँ – खक्रौलासम्मको सडकखण्डका साथै पलियाँ –गौरिफन्टा सडकखण्ड छिटो विस्तार र सम्पन्न गर्ने त्यहाँका मुख्यमन्त्री योगीले बताएका थिए ।