२०८३ भाद्र १२ गते शुक्रवार

बर्दियाबाट दाङको बगरमा सुन खोज्न आउनेहरु …

तुलसीपुर, वैशाख १ । बर्दियाको ठाकुरबाबा नगरपालिका–५ खुनपुर निवासी ५८ वर्षीय कालीप्रसाद खुनाहासहितको १२ जनाको समुहले बगरमा बालुवा चालीरहेको छ ।

शोभाराम थारु, जुमबहादुर थारुपनि साथमा छन् । उनीहरु सबै एकै गाँउ ठाउँका हुन । विगत १५ दिनदेखि देउखुरीस्थित राप्ती नदीको बगरमा उनीहरुले बालुवा चालेर सुन खोज्ने काम गर्दै आएका छन ।

बालुवाभित्र तहतहमा लुकेको सुनलाई उनीहरु केलाएर खोजी गर्छन । त्यसका लागि परम्परागत डुर, फल्याक, बेल्चा, जालीलगायतका परम्परागत सामग्री प्रयोग गरि रहेका छन् ।

कालीप्रसादका अनुसार बालुवामा संभावना बोकेका ठाउँहरुमा उनीहरु सुनको खोजी गर्छन । बर्षौंदेखि यही काम गर्दै आएका उनीहरुको अनुभवले सुन कस्तो ठाउँमा मिल्छ भन्ने ज्ञान छ ।

‘कहिलेकाहीं राम्रै पनि भेटिन्छ, कुनै दिन रित्तै पनि फर्कनुपर्छ,’ कालीप्रशादले भने ‘ यो हाम्रो पुर्खेउली पेशा हो ।’ सिजनहरुमा फुर्सदको समयमा उनीहरुको समुदायका मानिसहरु यसैगरि बालुमा सुन खोज्ने काम गर्छन । दाङको राप्ती नदी आसपासमा खोजेको सुन बिक्री गरि उनीहरु राम्रै आम्दानी गर्छन । घर गृहस्थी चालउन उनीहरुलाई सजिलो हुन्छ ।

बालुवा चाल्दा सुन भेटिन्छ भन्ने कुरा धेरैलाई विश्वास नहुन सक्छ । त्यो कतिपयलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । पश्चिम नेपालका थारु, खुनाहा, सुनाहालगायतका समुदायले वर्षौंदेखि राप्ती र बर्दियाकै बबई नदीको बालुवा चालेर सुन फेला पार्छन । त्यो बचेर बिक्री जीवन निर्वाह गर्दै आएको बताउँछन् ।

यतिखेर भन्दा भदौं असोजतिर काम गर्न सके राप्ती नदीमा राम्रो सुन भेटिने अनुभव उनीहरुले बाँडे ।
‘ आज भोलि दिनभरी खोज्दा जम्मा एक/ डेढ तोलासम्म सुन भेटिन्छ,’ कालिप्रशादले भने ‘ बर्षामा बढीले कटान गर्ने र नयाँ बालुवा र माटो बगाउने हुँदा बढी भेटिन्छ ।’


खेती पातीको समयमा घरको पनि काम गर्नु पर्ने हुँदा उनीहरु अक्सर त्यो समयमा सुन चाल्ने काम बिरलै गर्छन ।
कालिप्रसादका अनुसार उनीहरु फुर्सदको समयमा गाँउका मानिसहरु संग मिलेर यो काम गर्छन । एक सिजनमा एक जनालाई सुन बेच्दा एक लाख जति भागमा पर्छ । यतिखेर उनीहरु दाङको लमही क्षेत्रमा १५ जना आएका छन् ।

शोभाराम थारुका अनुसार ज्याला मजदुरी गर्नु भन्दा बालुवामा सुन चाल्दै खोज्न काम उनलाई सजिलो लाग्छ । कमाई पनि बढी हुन्छ । यस्मा कसैले ठक्ला भन्ने चिन्तापनि हुँदैन ।

‘ जति फेला पर्छ त्यो सुन आगोमा गालेर ब्यापारीलाई बेच्ने र त्यो भाग बण्डा गर्ने गर्छौं,’ उनले भने ‘ यस्ले घर व्यवहार चलाउन समेत सहज भएको छ ।’
मजदुरी गर्दा ठेकेदारबाट ठगिने जोखिम हुने भन्दै शोभारामले आफ्नो काम अनुसार नगद पैसा हातमा पर्ने बताए ।

नदीको बहावलाई हेरेर कटान भएको ठाउँ र बालुवाको रङ हेरेर सुन हुन सक्ने ठाउँको पहिचान गर्ने गरेको शोभारामले बताए ।

उनीहरु संग बालुवाको सुन खोज्न सक्ने आधुनिक उपकरण छैनने । त्यही भएर पुर्खाले बिगतमा प्रयोग गरेका स्थानीय स्रोत साधनबाट निर्मित सामग्रीबाटै उनीहरु सुन खोज्ने काम गर्दै आएका छन् । उनका अनुसार सुनको खोजीका लागि राप्तीको नदीको सिक्टादेखि भालुवाङको पुलसम्म उनीहरु पुग्ने गर्छन ।

करिव एक महिनासम्म नदिमा सुनका कनहरु संकलन गर्ने र धेरै जम्मा भएपछि त्यसलाई आगोमा पगालेर बिक्रीका लागि सुन पसल लैजाने गरेको जुमबहादुर थारुले बताए ।

बालुवा चालेर सुनका स–साना कनहरू जम्मा गरी एक तोला सम्म पुगेपछि त्यसलाई गालेर नेपालगञ्ज, बर्दियालगायतका ठाउँमा सुन व्यापारीलाई त्यो बिक्री गर्ने गरेको जुमबहादुरले बताए । नदीमा बालुवा चालेर संकलन गरेको सुनको मूल्य बजारको प्रचलित मूल्य भन्दा व्यापारीले केही सस्तो मूल्यमा खरिद गर्ने गरेको उनले बताए ।


केही बर्षअघिसम्म सिजनमा एक जनाले एक लाख बढी नै आम्दानी गर्ने गरेपनि पछिल्लो समय नदीनमा जथाभावी रुपमा भइ रहेको उत्खन्नले गर्दा सुन कम फेला पर्न थालेको उनले बताए ‘आजकल पहिलेको तुलनामा धेरै कम मात्रामा सुन भेटिने गर्छ,’ थारुले भने ‘ नदी खोलामा जेसिबीले मनपरी खन्दै उत्खनन् हुँदै आएको हुँदा सुन भरि सबै नष्ट भइ जान्छ ।’

राप्ती नदी र बबई नदीमा सुन खोजेर जीविका चलाउने गाउँमा करिव ४० घर बढी समुदाय रहेको जुमबहादुरले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *