तुलसीपुर, बैशाख १ । यतिखेर धमाधम जग्गा तयारीको काम भइ रहेको छ ।
जोत्ने, खन्ने, मल राख्नेका गाउँहरुले बिहानदेखि बलुकीसम्म काम गर्छन । भरखरै टमाटरको उत्पादन सकिएको छ । त्यही जग्गामा फेरि तरकारी लगाउन स्थानीय मेहनत गरि रहेका हुन ।
खुर्सानी, करेला, सिमी लगाएतका उत्पादनले टनेल भरिएका छन् । काउली, बन्दगोभीपनि अब सकिदै छन् ।
यो दृष्य दाङको तुलसीपुर उपमहानगरपालिका– ३ भट्टेको हो ।
५० बर्षीय नरसिंह बिकको परिवारको बारीमा कुल ३८ टनेल छन् । उनको बारीमा यतिखेर १३ वटा टनेलमा करेला, ८ वटा टनेलमा सिमी, बोडी छन् । ती बाहेक अन्य टनेलमा टमाटर थियो । यतिखेर टमाटरको उत्पादन फलेर सकिएको हुँदा अब बोटहरु हटाउँदै छन् । त्यसमा नयाँ बिरुवा रोप्ने तयारी छ ।
२०८१ सालमा उनले १२ लाख बराबरको उत्पादित तरकारी बेचे । ९ लाख खर्च भएको थियो । तीन लाख फाइदा भएको बिकले बताए ।
३८ कठ्ठा क्षेत्रफलमा ब्यबसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । आधा जग्गा आफ्नै हो । अरु भाडामा लिएको बताए । दुई जनालाई मासिक तलबमा काममा राखेका छन् ।
उनी पहिले बिदेश जान्थे । चार बर्ष पहिले तरकारी खेती सुरु गरेपछि यही राम्रो कमाइ हुन थाल्यो । त्यसपछि बिदेश जान छोडिदिए ।
स्थानीय मस्तबहादुर चन्दले विगत ३ वर्षदेखि तरकारी खेती गर्दै आएका छन । उनको १५ वटा टनेल छन् । करिब १४ वर्ष मलेसियामा बिताएका चन्दले गाउँमै ब्यबसायिक तरकारी खेती सुरु गरेपछि बिदेश जान छोडेका छन्।
गत वर्ष ७ लाख आम्दानी गरेका उनले यस त्यतिकै फाइदा हुने आशा गरे । तर यस पटक टमाटर केही रोग किरा लागेको उनले बताए ।
जैविक औषधि प्रयोग गर्दा किरा नियन्त्रणमा नआउने समस्या उनले सुनाए । ‘मेहनत गरे विदेशको जस्तै कमाइ हुने रहेछ,’ उनले भने ।
स्थानीय भीमबहादुर वलीले पनि विगत चार वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । अहिले ७ वटा टनेलमा टमाटर खेती गरेका छन् । उनले एउटा टनेलबाट सबै खर्च कटाएर ५० हजार जति आम्दानी हुने बताए ।
‘ तोरी, मकैको खती गर्दा १०/ १२ हजार पनि आम्दानी हुँदैन्थ्यो । तरकारी खेतीबाट राम्रै आम्दानी हुँदै आएको छ ,’ उनले भने । उनले अग्र्यानिक उत्पादनले केही बढी मूल्य पाउनु पर्ने माग गरे ।
५३ बर्षीय कर्णबहादुर वलीले २०८१ सालमा तरकारी र गड्यौंले मल गरि कुल ४९ लाख ४१ हजार ९ सय ७५ रुर्पैयाँको बिक्री गरे । गड्यौंला र गड्यौंले मल मात्रै २५ लाखको बेचे । बाँकी २५ लाख बराबरको तरकारी बेचे ।
त्यतिको कारोबार गर्दा दश लाख बचत भएको वलीले बताए ।
गड्यौंला केजीको १२ सय मा र गड्यौंले मल क्वीन्टलको तीन हजार रुपैंयामा बिक्री हुन्छ । ठाउँ ठाउँबाट उनी कहाँ त्यस्तो मल खोज्ने मानिसहरु आइ रहन्छन् ।
सल्यानबाट पाँच सय क्वीन्टर गड्यौंले मलको माग आएको थियो जम्मा एक सय ५० क्वीन्टल गड्यौंले मल साढे चार लाखको मात्रै भट्टे गाउँले बेच्यो ।
दुई वटा वलीको घरमा आज गड्यौंले मलका बेडहरु बढाएर १४ वटा पुर्याएका छन् । घरमा दुई भैंसी र चार बाख्रा पालेका छन् ।
सहकारीका सचिव केशरको बारीमा हाल चार वटा टनेल छन् । हिउँद यता मात्रै डेढ लाखको टमाटर बेचे ।
घरबास नजिकको आठ कठ्ठा जमिन मध्य अढाई कठ्ठामा उनले ब्यबसायिक तरकारी खेतीका लागि छुट्याएका छन् । घरमा एक भैंसी र तीन वटा बाख्रापनि पालेका छन् । उनी आफ्नो खेतीमा भैसिका साथै गड्यांैले मल नै प्रयोग गर्छन ।
सचिव वली बाह्रै मास तरकारी खेती गर्न सुरु गरेपछि अबकास पछिको आफ्नो जीवन थप सक्रिय भएको बताए ।
क्राँक्रा, फूल गोभी, बन्द गोभी, सिमी, खुर्सानी लगाएतको तरकारी खेती गर्छन ।
भट्टे गाउँलाई ब्यसायिक तरकारी खेतीतर्फ आकर्षित गर्ने मुख्य भूमिका स्थानीय भट्टे कृषी सहकारी संस्थाका अध्यक्ष ५३ बर्षीय कर्णबहादुर वली र ५६ बर्षीय सचिव केशरबहादुर वलीले खेलेका थिए । उनीहरु दुबै जना पूर्व प्रहरीहरु हुन ।
अबकासको जीवन पछि उनीहरुले तरकारी खेतीमा केही गर्ने अठोट ब्यक्त गरि गाउँलेलाई भेला गरि खेतीमा लाग्न प्रेरणा दिए ।
एक बिगाहा क्षेत्रफलमा ब्यबसायिक तरकारी खेती गर्दै आएका अध्यक्ष वलीले अन्नबाली भन्दा तरकारीबाट बढी फाइदा हुने बताउँछन् । स्थानीयका अनुसार पहिला किसानले बर्षे र हिउँद गरि दुई बाली मात्रै लगाउँथे । धान, मकै वा तोरी , गहुँ , मसुरो मात्रै उत्पादन हुन्थ्यो । गाउँघर त्यस्ता अन्नबाली मात्रै लगाउने घर परिवार आज जम्मा चार जना मात्रै रहेको अध्यक्ष वलीले बताए ।
अध्यक्ष वलीका अनुसार भट्टेका सबै किसाले रासायनिक मल वा रासायनिक बिषादी प्रयोग बिना नै अग्र्यानिक तरकारी उत्पादन गर्ने गर्छन । गाइ भंैसीको मुत्रसंकलन गरि बिषादी रुपमा प्रयोग गर्ने गर्छन ।
आँफुहरुको उत्पादन बुझ्ने बजारबासीहरु खोजी–खोजी भट्टेको टमाटर र तरकारी किन्न थालेको उनले बताए । उनले भट्टेको टमाटर टिपेको एक महिनासम्म पनि नबिग्रने दाबी गरे ।
ब्यबसायिक तरकारी थालेपछि सबैले भट्टेको रातो माटोमा केही संभावना छैन भन्नेहरु पछिल्लो प्रगति देखेर चकित पर्ने गरेका छ्न । चार बर्ष पहिले सम्म यहाँ बर्षा र हिउँदमा गरि दुई बाली मात्रै हुने गथ्र्यौै ।
हिउँद पछि स्थानीयले पालेका गाइ बस्तु छाडा छाडिदिन्थे । तर, सबैले ब्यबसायिक तरकारी खेती गर्न थालेपछि हिउँदे बाली भित्र्याएपछि बस्तु चौपाया छाडा छोड्ने चलन पूर्ण रपमा बन्द भएको छ ।
तुलसीपुरदेखि झन्डै १४ किलोमिटर पश्चि उत्तरमा पर्ने भट्टे गाउँ पर्छ ।
गाउँमा कुल एक ४५ घर परिवार छन् । ती मध्य ६० जनाले ब्यबसायिक तरकारी खेती गर्दै आएका छन् ।
यहाँ सबैको घर घरमै घरायसी खपतका लागि सबैले तरकारी खेती गर्छन । गएको बर्ष मात्रै भट्टे गाउँले दुई करोड १५ लाख तरकारी बेचेर भित्र्याएको रेकर्ड छ ।
गाउँका किसानलाई ब्यबसायिक तरकारी खेतीमा लाग्ने प्रेरित गर्ने संस्था ‘भट्टे सहकारी संस्था लिमिटेड’ हो । यो सहकारीमा आज एक सय ११ जना शेयर सदस्य छन् ।
२०७०/०३/१६ गते सहकारी डिभिजन कार्यालय घोराहीमा यो दर्ता भएको थियो । पछिल्लो समय गाउँघर चार सय टनेलहरु निर्माण भएका छन् । गत बर्ष तीन सय टनेलहरु थिए । यो बर्ष एक सय टनेल थपिएका हुन । यी सबै टनेलमा कुषी ज्ञान केन्द्र घोराही दाङको ५० प्रतिसत अनुदान छ ।
हरेकको घरमा कम्तिमा दुईदेखि ८ वटासम्म गड्यौंले मल उत्पादनका लागि बेडहरु छन् । यो बर्ष मात्रै गाउँमा गड्यौले मल उत्पादनका लागि थप एक सय बेडहरु थपिएका छन् । चार बर्ष पहिले सहकारी दर्ता भएपछि २५ जनाले मात्रै खेती सुरु गरेका थिए ।
जम्मा एक सय ४० टनेलहरु पहिलो बर्ष गाउँमा निर्माण गरिएका थिए । तर बिस्तारै स्थानीय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । आज चार सय टनेलहरु गाउँमा निर्माण भइ सकेका छन् । त्यो निरन्तर बढ्ने क्रम जारी छ ।

