तुलसीपुर , चैत २२ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रहरी असइ सञ्जय गिरी र हवल्दार बिनोद रेउले बुधबार बेलुकी आँफु सवार लु.प्र . २ ००१ ब ००१८ नम्बरको मोटरसाइकल सडकमै पल्टिएको अवस्थामा छोडेर भागे ।
जुन मोटरसाइकलमा उनीहरु आँफै सवार थिए । त्यो सरकारी मोटरसाइकल अमेरिकी सहयोग परियोजना तयार नेपालले नगरलाई आगलागीको समयमा दमकलको प्रयोग हुँदा सहयोगका लागि भनेर नगरलाई उपलब्ध गराएको थियो ।
सरकारी मोटरसाइकल राप्ती राजमार्ग अन्तरगत तुलसीपुर – १२ टरिगाउँ एयरपोर्टको केही दक्षिण पल्टिएको अवस्थामा बेवारिसे छोडेको अवस्थामा देखेपछि स्थानीयले त्यसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
कतिपयले आफ्नै सम्पत्तिको रक्षा गर्न नसक्ने नगर प्रहरीले कसरी नगरबासीको ज्यूधनको रक्षा गर्लान भनेरपनि आलोचना गरेका थिए ।
त्यो घटना खास के थियो त ? फरककोणले अनुसन्धान गर्दै जाँदा नगरका असइ गिरी र हवल्दार रेउले आफ्नो ज्यान जोगाउन भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको तथा उनीहरु त्यस्लाई त्यस्तै हालतमा छोडेर भागेको तथ्य खुलेको छ । मोटरसाइकल पल्टिदा गिरीलाई टाउकोमा र रेउलेलाई हात र खुट्टामा सामान्ने चोट पटक लागेको छ ।
तुलसीपुरका मेयर टीकाराम खड्काले फरककोण्लाई सोही कुरा बताए । इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीको पनि त्यो भन्दा फरक भनाइ थिएन ।
नगर प्रहरी गिरी र रेउलेलाई के त्यस्तो आपत परेको थियो ? मेयर खड्काका अनुसार तुलसीपुर – १२ टरिगाउँका एक युवा बिर्सजन बुढा मगरले बुधबार बेलुकी ८ बज्दै गर्दा खुडा लिएर सडकमा नचाउँदै पर्दशन गरेपछि डरले ज्यान जोगाउन नगर असइ गिरी र हवल्दार रेउले भागभाग गरेका थिए ।
त्यो साँझको घटना के भएको थियो ? तुलसीपुर – १६ अन्तरगत पर्ने ग्वारखोलामा केही ट्रयाक्टरहरु अबैध रुपमा उत्खनन् गरि रहेको भन्ने सूचना स्थानीयले वडाअध्यक्ष शिवानन्द डाँगीलाई साढे ७ बजेतिर अवगत गराएका थिए ।
ट्रयाक्टर नियन्त्रणमा लिएर कार्यालय तर्फ आउँदै गर्दा ट्रयाक्टर धनिले बाटोमा नगर प्रहरीलाई खुडा देखाए पछि उनीहरु मोटरसाइकल सडकमै छोडेर भागेर ज्यान जोगाएको खुलेको छ ।
बुधबार बेलुकी सवा ७ बजेतिर रा १ त ४०२३ नम्बरको ट्याक्टरसहित ग्वारखोलामा बालुवा गिट्टी उत्खनन् गरि रहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका –१२ टरिगाउँका चालक अनिल चौधरीलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि चालक चौधरीले ट्रयाक्टर धनी तुलसीपुर – १२ कै बिर्सजन बुढा मगरलाई त्यसबारे खबर गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाको प्राकृतिक स्रोत साधन उपसमितिका सदस्यसमेत रहेका डाँगीले त्यो सूचना तत्काल नगर प्रहरीलाई प्रवाह गरे । उनले नगर प्रहरीलाई तत्काल खोलामा जान र ट्रयाक्टर नियन्त्रणमा लिन निर्देशनपनि दिएका थिए । तुलसीपुरको प्राकृतिक स्रोत साधन उपसमितिका संयोजक शंकरकुमार खड्का हुन ।
डाँगीको आदेश पालना गर्दै नगर असइ गिरी र हवल्दार रेउले मोटरसाइकलमा ग्वारखोला पुगे । उनीहरुले अबैध रुपमा बालुवा गिट्टी उत्खनन् गरि रहेको अवस्थामा रा १ त ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिए ।
तुलसीपुर–१२ टरिगाउँका चालक अनिल चौधरीले त्यो कुरा ट्रयाक्टरका धनी तुलसीपुर – १२ कै बिर्सजन बुढा मगरलाई अबगत गराए ।
नियन्त्रणमा लिएको ट्रयाक्टरलाई उनै चालक चौधरीलाई चलाउन लगाएर नगर प्रहरीले तुलसीपुर उपमहानगरतर्फ ल्याउँदै थिए ।
आफ्नो ट्रयाक्टर नियन्त्रणमा लिएको सुन लगतै रिसले आगो बनेका ट्रयाक्टरका धनी मगरले तत्कालै आँफु नजिकका केही युवालाई बोलाए । उनी घरबाट मोटरसाइकलमा खुडा लिएर ट्रयाक्टर लैजान नदिने उदेश्यका साथ बाटो छेक्न आइपुगे ।
जब उक्त ट्रयाक्टर टरिगाउँ एयरपोर्ट भन्दा थोरै दक्षिण फ्लोर मिलनेर आइपुगेको थियो, मगरले ट्रयाक्टर लैजान पाइदैन भन्दै बाटो रोक्न खोजे । नगर प्रहरी संग उनको बादबिबाद भयो ।
त्यसपछि मगरले आँफुले ल्याएको खुडा सडकमै नचाउन थालेको मेयर टीकाराम खड्काले बताए ।
‘ मगरले खुवा तरवाल सडकमै नचाउन थालेपछि हतियार बिहिन नगर प्रहरी ज्यान जोगाउन भाग्ने क्रममा मोटरसाइकलसहित सडकमै पल्टिएका थिए,’ मेयर खड्काले भने ‘ पल्टिने क्रममा दुबै जनालाई टाउको तथा हात खुट्टामा सामान्ने चोट पटक लागेको छ ।
त्यसपछि पनि ज्यान खतरामा पर्न सक्ने अवस्था मनन् गरि पल्टिएको मोटरसाइकल सडमै त्यसै छोडेर नगर प्रहरी गिरी र हवल्दार रेउले भागेर ज्यान जोगाएको मेयर खड्काले बताए ।
सडकमै सरकारी मोटरसाइकल पल्टिएको देखेपछि स्थानीयले त्यस्को फोटो र भिडियो सामाजिक सञ्जालमा राखेपछि घटना बारे बल्ल दोस्रो दिन थाहाँ भएको हो ।
यसबारे बिहीबार पनि उपमहानगरले प्रेसलाई कुनै जानकारी भने दिएको थिएन । तर, उपमहानगरले बिहीबार इलाका प्रहरी कार्यालयलाई पत्राचार गरि मगरको खोजी गरि आवश्यक कानुनी कारबाहीका लागि आग्रह गरेको छ ।
नगर प्रहरी ज्यान जोगाउन आँफै भागाभाग गरेपछि ट्रयाक्टर चालक चौधरीपनि ट्रयाक्टर लगेर भागेका थिए । बिहीबार बिहान मात्रै प्रहरीले चालक चौधरीलाई नियन्त्रणमा लिएको थियो । ट्रयाक्टर धनी मगरले भने फरार छन् । उनको खोजी कार्य भइ रहेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए ।
खोला जन्य बस्तुको चोरी निकासी भइ रहेको सूचना लगतै नगर प्रहरी प्रहरीलाई कुनै खवर नै नगरी वा आवश्यक समन्वय नै नगरी खोलामा गइ ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।
नगर प्रहरी संग कुनै खाले हात हतियार हुँदैन । मगर खुडा लिएर बाटो छेक्न आएपछि उनीहरु डरले ज्यान जोगाउन भागाभाग गरेको खुलेको छ ।

