
जयन्ती चौधरी
तुलसीपुर, असार ११ ।
दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारप्रसार विरुद्धको दिवस २०१९ कार्यक्रम भएको छ । नयाँ पाईला पुनःस्थापना तुलसीपुर–१९, बिजौरीको आयोजनामा कार्यक्रम भएको हो । ‘समृद्ध नेपाल निर्माणका लागि स्वस्थ लागूपदार्थरहित जीवन’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारप्रसार विरुद्धको दिवस २०१९ मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको सभापतित्वमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यता एवम् जिल्ला प्रहरी प्रमुख बेल बहादुर पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रेम बहादुर शाही, ईश्वरी विश्वविद्यालयकी गीता दिदी, दाङ जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावत, नार्कोन्न संस्थाका प्रदेश नम्बर ५ का संयोजक बसन्त पुनलगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट प्रभात फेरी निकालिएको कार्यक्रम विएसएस पार्टी प्यालेसमा पुगेर बृहत सभामा परिणत भएको थियो । कार्यक्रमको विषयवस्तुको प्रवेश नार्कोन्न संस्था प्रदेश नम्बर ५ का संयोजक बसन्त पुनले गरेका थिए । उनले अल्कोहल, ट्याब्लेट, फार्मेसिटिकजस्ता लागूऔषधको प्रयोग शहरी क्षेत्रमा व्यापक रहेको बताए । लागूऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न प्रत्येक तह तप्कादेखि नै लागेमा मात्रै यस दुव्र्यसनीबाट मुक्त हुन सक्ने उनले बताए ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्वस्थ र स्वच्छ नागरिक निर्माण गर्नको लागि लागूऔषध दुव्र्यसनीलाई त्याग्न पर्ने बताए । लागूऔषध दुव्र्यसनीमा फसेकालाई सचेतना र यसको कुप्रभावका बारेमा समाजका हरेक व्यक्तिलाई ज्ञान दिनुपर्ने सुझाव दिए । विगतमा भएका घोषणापत्रलाई नगरसभामा समायोजन गरेको, त्यससँग सम्बन्धित नियमन नियन्त्रणलाई नगरले अगाडि बढाएको प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख पाण्डेले विद्यार्थीलाई २ वर्षमा २ पटक स्वास्थ्य जाँच गर्ने नीति पनि अघि सारेको, विद्यालय र अभिभावकसँग समन्वय गरेर लागूऔषधको प्रयोग गरेको छ कि छैन भन्ने कुराको चेकजाँचसमेत गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, जिल्ला प्रहरी प्रमुख बेल बहादुर पाण्डेले लागूऔषध दुव्र्यसनीबाट आफ्नो बालबालिकालाई टाढा राख्नको लागि आफू स्वयम् नै सचेत हुन पर्ने बताए ।
साथै पाण्डेले लागूऔषध दुव्र्यसनीबाट जनतालाई बच्न र बचाउनको लागि सचेतनामूलक कार्यक्रम तथा गाउँ–गाउँ, नगर–नगरबाट एकजुट भएर सचेतना फैलाएमा यसको निराकरण गर्न सकिने औंल्याए । उनले भने ‘जबसम्म हामी बस्न लायक बनाउदैनौँ तबसम्म लागूऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न सक्दैनौँ ।’
त्यस्तै, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले लागूपदार्थ घरबाट नै उत्पादन हुने भएकोले यस्ताखालका लागूपदार्थलाई उत्पादन र वितरणमा रोकथामका लागि प्रयास गर्नुपर्ने बताए । नेपालमा विभिन्न नाकाहरुको प्रयोग गरेर लागूपदार्थको ओसारपसार गरिरहेको बताए । उनले नेपालमा खुलेयाम लागूऔषधको व्यापार भैरहेकोले यसलाई नियन्त्रणमा लिन नसकिएको प्रति चिन्ता व्यक्त गरे । जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी सुष्मा गिरीले गरेकी थिइन् ।
