प्रिया स्मृती गजमेर
देउखुरी, १० असार
राप्ती गाउँपालिका वडा नम्बर ४ मा मंगलबार साँझ साढे ६ बजेतिर चट्याङ पर्दा तीनजना बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी खुशीराम चौधरीका १३ बर्षका छोरा विवेक चौधरी, सन्तु चौधरीका १२ वर्षका साजन चौधरी र बल बहादुर चौधरीका बर्ष १० का रमित चौधरीको मृत्यु भएको छ ।
अर्का एकजना अविनास चौधरी घाइते भएको दाङ प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विवेक, साजन र रमितलाई उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याईएको थियो । उनीहरुको उपचारका क्रममै मृत्यु भएको हो ।
मंगलबार आज बन्दका कारण विद्यालय बन्द भएकोले हातमा गुलेली लगेर बिद्यालय अघि रहेको जामुनाको रुखमा चरा हान्न गएको मृतक विवेकका बुवा खुशिराम चौधरीले बताए । आफूहरु खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको खुशिरामले बताए । मृतक बालकहरु बघढ्ड्डीस्थित रहेको विद्यालयमा अध्ययनरत थिए । चट्याङ लागेर घाइते भएका अविनासको लमहीमा उपचार भैरहेको छ ।