दाङ, माघ १६ । बुधबार दिउँसो लुगा धुन भनेर गएका एक युवकलाई छारे रोगले छोएपछि खोलामा लड्न पुगी डुबेर मृत्यु भएको छ ।
सल्यानको दार्मा गाउँपालिका – ३ बाझठानाका २५ बर्षीय काले पाण्डेको बुधबार दिउँसो १ बजेतिर स्थानीय दार्मा खोलामा कपडा धुन गएको समयमा छारे रोगले छोएपछि डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी हवल्दार यज्ञबहादुर खड्का नेतृत्वको तीन जनाको टोली र इप्रका थारमारेबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठ नेतृत्वमा पाँच जनाको टोली पुगेर अनुसन्धान गरेको थियो ।
प्रहरी टोलीले स्थानीयका साथै घर परिवारका सदस्यलाई सोधपुछ गरेको थियो । प्रहरीले मुचुल्का तयार पारी शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
छारे रोगका बिरामी पाण्डेलाई लुगा धुदै गर्दा छारे रोगले छोएपछि उनी खोलामा परेको र पानीमा डुबेर मृत्यु भएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रबक्ता बस्नेतले बताए ।