दाङ, माघ १० । अर्कैको जग्गाको नक्कली पूर्जा बनाइ बैंकबाट एक करोड २० लाख रुपैैंया कर्जा लिएर ठगी गर्ने एक महिलासहित तीन ब्यक्ति पक्राउ परेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका – ८ का रेशमा श्रेष्ठको बाँकेको डुडुवा गाउँपालिका – ५ स्थित कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कठ्ठा जग्गा नक्कली धनी पूर्जा बनाइ त्यो धितो राखेर तीन जना मिलेर मुक्ति नाथ बिकास बैंक लिमिटेड लगनटोल काठमाडौं बाट मिलेमतोमा एक करोड २० लाख रकम कर्जा लिएका थिए ।
त्यसरी नक्कली पूर्जा बनाइ बैंकलाई समेत झुक्याएर रकम ठगी गर्नेमा काभ्रेपलान्चोकको बनेमा नगरपालिका – १ का २२ बर्षीय गौरब कार्की, सोही ठाउँकै ३५ बर्षीया इश्वरी माया रोका र बाराको जितपुर नगरपालिका – ३ का ३५ बर्षीय दिलिपकुमार सिंह थिए ।
उनीहरु तीनै जना माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ परि सकेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिरएको प्रहरी टोलीले काठमाडौं प्रहरीको सहयोगमा माघ ८ गते उनीहरुलाई पक्राउ गरि घटना अनुसन्धानका लागि बाँके ल्याएको छ ।
पक्राउ परेका तीन जना मिलेर श्रेष्ठको नाममा रहेको ३३ कठ्ठाको नक्कली जग्गा धनी पूर्जा बनाइ त्यो बैंकमा धितो राखेर बैंकबाट एक करोड २० लाख कर्जा झिकेका थिए । त्यसपछि उनीहरुले त्यो रकम आपसमा बाँडफाँड गरि ठगी खाने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी आयूशप्रशाद जोसीले काठमाडौबाट पक्राउ गरि बाँके ल्याइएका तीनै जना बारे थप अनुसन्धान भइ रहेको बताए ।