
काठमान्डौं, असार ९ । सर्लाहीमा प्रहरीको गोली बाट मारिएका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे गृहमन्त्री रामबहादुर थापाले दिएको बयानलाई नेकपाकै सांसदले पत्याएनन् । गृहमन्त्री थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पौडेलको हत्या प्रहरीसंगको मुठभेडमा भएको जानकारी गराएका थिए । तर गृहमन्त्री थापाको जवाफमा पूर्वमन्त्री रहिसकेका नेकपाकै सांसदले भने त्यो विश्वास गरेनन्।
नेकपाकी सांसद रेखा शर्माले ‘संकटकालका बेला आफू एक वर्ष आर्मीको क्याम्पमा बसेको उल्लेख गर्दै भित्र हातखुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको देखेको उल्लेख गर्दै’ गृहमन्त्रीलाई घटना पुष्टि गर्न चुनौती दिइन्।
उनले कुमार पौडेलको हात चार पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ मागेकी थिइन । ‘यो घटनाको राम्रोसँग छानबिन हुनुपर्छ’, शर्माले भनिन् ‘यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा प्रोत्साहन भैरहेको छ।’
नेकपाकै सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रहरीले दिएकै फोटोमा कुमार पौडेलको हात पाँच छ ठाउँमा भाँच्चिएको देखिएको हुँदा गृहमन्त्रीको कुरामा विश्वास गर्ने आधार नरहेको बताए ।
‘पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्छ’, शर्माले गृहमानन्त्री थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित बैठकमा भने, ’के गोली हानेपछि भाँच्चियो हातखुट्टा? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि पैदा गर्छ ।’ उनले पौडेल घटनाकाण्ड हेर्दा त्यो मुठभेड हो भन्ने नलागेको बताए । पूर्व गृहमन्त्री शर्माले विप्लवले मुठभेड चाहेकाले सरकारले त्यतातिर लैजान नहुने बताए। उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न लाग्न आग्रहसमेत गरे।
त्यसअघि गृहमन्त्री थापाले प्रहरीको गस्तीमा रहेका बेला दुइटा अन टेस्ट लेखिएको मोटरसाइकलमा आएका चार जना व्यक्तिले प्रहरीलाई लक्षित गरी फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमा मृत्यु भएको समितिमा बताएका थिए ।
त्यसको जवाफमा पूर्व गृहमन्त्री शर्माले भने आफूहरू जस्तै साथीहरु विगतमा निहत्था मारिएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए, ‘के हामी त्यही प्रवृत्ति दोर्होयाउन चाहन्छौं?’ उनले प्रहरीलाई कानुनी कारबाहीमा साथ हुने तर हत्यामा साथ नहुने बताए।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पनि घटनाबारे परिवारबाट फरक विवरण आएको कुरा त्यहाँ बताइन । पौडेलको परिवार र मिडियाहरुमा समेत प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेर हातखुट्टा बाँधेर उनको मृत्यु भयो भनेको कुरा पत्याउन कठिन भइरहेको संग्रौलाले बताइन ।
सांसदहरुले आलोचना पछि भने गृहमन्त्री थापाले आफ्नो बोली फेरेका थिए । कुमार पौडेलको मुठभेडको घटना फरक प्रकृतिको देखिएको उल्लेख गर्दै छानविन गर्ने उनले आश्वासन दिए । साथै सरकारले विप्लवसँग वार्ताको पहल गरिरहेको पनि उनले जानकारी दिए । यसैबीच प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले गृह मन्त्रालयलाई घटनाबारे ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
