घोराही, पुस २५ । नेपाली लेखक संघ दाङले साहित्य, पत्रकारिता, राजनीतिसँगै शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अग्रज साहित्यकार विनोद पोख्रेललाई सम्मान गरेको छ ।
प्रजातान्त्रिक विचारलाई संस्थागत गर्न विभिन्न संघसंस्था स्थापना गरेर महत्वपूर्ण योगदान दिएबापत अग्रज साहित्यकार पोख्रेललाई घोराही उपमहानगरपालिका–१८ महदेवास्थित निवासमा पुगेर संघले सम्मान गरिएको हो ।
पोख्रेल नेपाल पत्रकार महासंघ दाङ, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ, नेपाल प्रेस युनियन दाङका संस्थापक हुन । उनी नेपाल शिक्षक संघ दाङ र विपी चिन्तन केन्द्रका संस्थापक अध्यक्ष हुन । उनले अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको अध्यक्षका रूपमा काम गरिसकेका छन ।
जिल्लाका विभिन्न विद्यालयमा शिक्षक सेवा गरेका उनी मावि रझेना र तत्कालिन रात्रि मावि रझेनाका प्रधानाध्यपाक थिए ।
२०१० सालमा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा जन्मिएका पोख्रेलले जय नेपाल, दृष्टिकोण, सरयु, चारतारा, राप्ती सन्देश साप्ताहिक पत्रिकाको सल्लाहकार सम्पादक भूमिका निर्वाह गरेका थिए । उनी हाल रेडियो स्वर्गद्वारी र गोरक्ष राष्ट्रिय दैनिकको सल्लाहकार सम्पादकको भूमिकामा छन् ।
पोख्रेल बनारस हिन्दु विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातक गरेका छन । गोरक्ष दैनिकमा प्रत्येक शनिवार नियमित रूपमा लेख्दै आएका पोख्रेलको ‘मेरो बिहानी’ कविता संग्रह प्रकाशित छ । नेपाली लेखक संघ दाङले यसअघि साहित्यकार सुशील गौतम ‘हापुर’लाई सम्मान गरेको थियो ।
