दाङ, पुस १६ । नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा मंगलबार मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते विपीको नेतृत्वमा सर्वाैच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएका थिए ।
आँफुमाथि बिभिन्न मुद्दा चलिरहेको समयमा आठ वर्ष लामो निर्वासित जीवन त्यागेर देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता स्वदेश फर्किएको दिनलाई मेलमिलाप दिवसको रुपमा मनाउँदै आइएको छ ।
जतिखेर विपीलाई मृत्युदण्ड लगाएत आठ वटा मुद्दा अदालतमा बिचाराधिन थिए ।
भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ विपी लगायत नेता नेपाल फर्किएका थिए ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । उपचारका लागि भारत पुगेका कोइरालाले निरङकुस पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक अभियान चलाएका थिए ।
त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको थियो।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथा सङग्रह ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, आफ्नो जीवनी र जेल बस्दाको दैनिकी ‘जेल जर्नल’ लेखेका थिए ।
‘दोषी चश्मा’ उनको चर्चित कथा संग्रह हो ।
दिवसका अवसरमा नेपाली कांग्रेसका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । नेपाली काँग्रेस दाङलेपनि बिभिन्न कार्यक्रम गरि विपीको योगदानको स्मरण गर्ने भएको छ ।

