तुलसीपुर, मंसिर २३ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जनतामा निरासाको खेती गर्नेहरुको आवाज बन्द भएको बताएका छन् ।
शनिबार दिउँसो आफ्नो घर भएको वडा तुलसीपुर उपमहानगरपालिका – १९ को नव निर्मित प्रशासनिक भवनको उदघाटन गर्दै महासचिव पोख्रेल विगतको भन्दा वर्तमानमा सरकारले धेरै उपलब्धि प्राप्त गरेको हुँदा निरासाको खेती गर्नेहरुको आवाज बन्द भएको बताएका हुन ।
निरासाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको भएपनि पछिल्लो समय त्यस्तो खेती बन्द भएको उनले दाबी गरेका थिए ।
राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको भन्दै अहिले त्यो अस्थिरता चिर्ने काम भएपछि कतिपयले जनतामा भ्रम छर्न क्रम बन्द हुने अवस्थामा पुगेको बताए ।
देश बलियो बनाउनका लागि बलियो शक्तिको आवश्यकता रहेको भन्ने चर्चा गरेका उनले त्यसका लागि एमाले आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेकोमा खुसी साटेका थिए ।
उनले अब तुलसीपुरका कुनैपनि वडाहरु भाडाको घरमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
मेयर खड्काले मंसिरमै कृषी ,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको हुँदा अब बिगतमा जस्तो भाडामा ठूलवो धनराषी तिर्नुपर्ने अवस्था नरहेको बताएका थिए ।
तुलसिपुर उपमहानगरपालिकाको – १९ तोप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो ।
वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको हुँदा सबैलाई पायक पर्ने बताएका थिए ।