२०८१ माघ १० गते बिहिवार

उपनिर्वाचन लुम्बिनी – काँग्रेसलाई नोक्सान,एमालेलाई प्लस,माओबादी यथावत

दाङ, मंसिर १७ । लुम्बिनी प्रदेशमा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएको छ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भए संगै प्रदेशको सबै नतिजा सार्वजनिक भएको हो ।

विभिन्न कारणले रिक्त भएका पदका लागि मंसिर १६ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई फाइदा भएको थियो । प्रमुख सत्तासाझेदार एमालेले कांग्रेसबाट एउटा वडाध्यक्ष खोस्न सफल भएको छ ।

लुम्बिनीमा पाँच जिल्लाका ६ पदमा उपनिर्वाचन भएको थियो । एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा माओबादी यथावत अवस्थामा रह्यो ।

रुकुम पूर्वमा माओबादी उम्मेदवार निर्वाचित

सार्वजनिक मत परिणाम अनुसार गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ४२ बर्षीया नरपुरा बुढा निर्वाचित भएकी छन् । उनले ३६२७ मत प्राप्त गरि निर्वाचित भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरले बताए ।


२०७९ को स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले निर्वाचित नरपुरा बुढा भूपेन्द्राकी सहोदर दिदी हुन । यो गाउँपालिकामा प्रमुख दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा फरक अभ्यास भएको थियो ।


काँग्रेसको रुख चुनाव चिन्हवाट प्रतिष्पर्धामा उत्रिएकी नेकपा (एमाले) की ५५ बर्षीया नेतृ केशकुमारी तुलाचनले २१२८ मत मात्रै प्राप्त गरेकी छन् । तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन ।

मनोनयन दर्ता गराएपनि नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएका मध्य अधिकाँसले माओबादीकी उम्मेदवारलाई समर्थन गरेका थिए ।

उत्तरगंगा गाउँपालिकामा कुल १११३० मतदाता थिए । मंसिर १६ गतेको उपनिर्वाचनमा ५९३२ मत मात्रै खसेको थियो । त्यो ५३.०३ प्रतिसत हुन्छ । आधा बढी मतदाता मतदानमा सहभागि भएका थिएनन् ।

वडा नं. २ मा निर्विरोध

पुथा उत्तरगंगा गाउँपालिका – २ को वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

नेकपा एमालेका जीवन रोका र स्वतन्त्र रूपमा शुकराज बिकले उम्मेदवारी झिकेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । लुम्बिनीका पाँच जिल्लामा भएको उपनिर्वाचनमध्ये वडाध्यक्ष पदमा निर्विरोध भएको यही एक वडा हो ।

एमाले उम्मेदवारले समेत माओबादी उम्मेदवारको समर्थनमा उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ आन्तरिक किचलो सुरु भएको थियो । त्यसको प्रभाव गाउँपालिका उपाध्यक्ष पदमा पनि हुने राजनीतिक बृत्तमा विश्लेशनहरु भइ रहका छन् ।


पुथा उत्तरगंगा गाउँपालिका – २ मा २०७९ सालमा पनि माओबादीका जसबहादुर श्रीपाइली विजयी भएका थिए। श्रीपाइलीको पनि गाउँपालिका उपाध्यक्षसँगै सवारी दुर्घटनामा मृत्यु भएको थियो।
रोल्पाको रुन्टीगढी – ४ मा काँग्रेसका भूपमणि पुन मगर निर्वाचित

रोल्पामा काँग्रेसको जित

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भए ।
प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले काँग्रेसका मगरले ६४३ मत प्राप्त गरि निर्वाचित भएको बताए ।

पूर्व शिक्षक समेत रहेका मगरले निकटतम प्रतिपष्र्धी नेकपा एमालेबाट बेगम पुन मगरको भन्दा १०८ मत बढी प्राप्त गरेका थिए । एमालेका मगरले ५३५ मत प्राप्त गरेका थिए । अर्का प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत प्राप्त गरेका थिए ।


त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत प्राप्त गरेका थिए ।

यहाँ २१ मत बदर भएको थियो । यो वडामा २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए । उनको मृत्यु भए पछि रिक्तस्थानमा मंसिर १६ गते उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा त्यहाँ झण्डै ६० प्रतिशत मत खसेको थियो । एक हजार दुई सय ९७ मत खसेको थियो । कुल मतदाता एक हजार नौं सय थिए।

बर्दियामा काँग्रेसको जित

बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित भएका छन् ।
४८ बर्षीय थारुले १०४३ मत प्राप्त गरि निर्वाचित भएका हुन । निकटतम प्रतिद्धन्दी भन्दा थारुले ३६५ मत बढी प्राप्त गरि उनी निर्वाचित भएका हुन ।


नेकपा (माओवादी केन्द्र) का ५३ बर्षीय शेरबहादुर थारूले ६७८ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका ५० बर्षीय विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका ५९ बर्षीय प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५८ बर्षीय रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ७१ बर्षीय वासुदेव शर्माले १७ मत प्राप्त गरेका थिए ।


यो वडामा २०७९ सालमा पनि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए। उनी जिल्ला पार्टी सभापति बनेपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए । नवनिर्वाचित अमिन थारूले उपनिर्वाचन आउनु भन्दा केही दिन पहिले मात्रै कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाध्यक्ष पदका लागि उम्मेदवार दिएका थिए ।


मंसिर १६ गते भएको उपनिर्वाचनमा बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ मा अध्यक्ष पदका लागि ६३.७९ प्रतिशत मत खसेको थियो । यहाँ दुई हजार दुई सय ३९ मत खसेको थियो ।

कुल तीन हजार पाँच सय दश मतदाता थिए । महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ मतदाता थिए । दुई वटा मतदान स्थल मध्य कृषि पशु सेवा केन्द्रमा सात सय ४२ र बबई सिशुमन्दिर मावि बर्गदहामा एक हजार चार सय ९७ मत खसेको थियो । निर्वाचनका लागि पाँच वटा मतदाता केन्द्र तोकिएका थिए ।

गुल्मीमा काँग्रेसको जित

गुल्मीको मुसिकोट – १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले ११८४ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९३० मत प्राप्त गरेका थिए ।


यहाँ नेकपा (माओवादी केन्द्रका) उम्मेदवार दुर्गा बिकले १४३ मत प्राप्त गरेका थिए । यहाँ आठ जनाको बीचमा प्रतिष्पर्धा भएको थियो । यहाँ कुल २३३४ मत खसेको थियो। उपनिर्वाचनमा ५७.०५ प्रतिशत मत खसेको छ । यहाँ कुल चार हजार ९१ मतदाता थिए ।


२०७९ मा यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए। उनले आत्महत्या गरेपछि रिक्त स्थानमा मंसिर १६ गते उपनिर्र्वचन भएको हो।

कपिलबस्तुमा काँग्रेसबाट एमालेले खोस्यो वडाध्यक्ष पद

कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १ को अध्यक्षमा नेकपा (एमाले) का मोहम्मद ताहिर मुसलमान विजयी भएका छन । मुसलमानले एक हजार एक सय ५० मत प्राप्त गरि निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरेका थिए । तेस्रो भएका जनमत पार्टीकाका सीताराम पटेल कुर्मीले चार सय २३ प्राप्त गरे ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडा नेपाली कांग्रेसले जितेको थियो। उतिखेर नेपाली कांग्रेसका तिलकराम यादवले १०३२ मत पाएर बिजयी हुँदा एमालेका अब्दुल मोजिव खाँले ८८९ पाएका थिए।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १ मा ६९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ३३७९ मत खसेको थियो । शुद्धोधन गाउँपालिका – १ मा दुई हजार एक सय १२ महिला र दुइ हजार सात सय ५६ पुरुष गरी चार हजार ८ सय ६८ मतदाता थिए ।

उपनिर्वाचनका क्रममा यो वडामा चार स्वतन्त्रसहित १४ जनाको बीचमा प्रतिपर्धा भएको थियो । २०७९ सालमा यो वडामा नेपाली कांग्रेसले जितेको थियो । तत्कालिन वडाध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त पदको लागि निर्वाचन भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *