२०८२ कार्तिक २९ गते शनिवार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू


तुलसीपुर, मंसिर १० । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि आज देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको हो ।

महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा र विभिन्न संघसंस्थाको सहकार्यमा आज अभियानको उद्घाटन गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काको संरक्षकत्व र उपमेयर स्यानी चौधरीको अध्यक्षतामा अभियानको उद्घाटन गरिएको हो ।

मेयर टिकाराम खड्काले महिला हिंसा अन्त्यका लागि समाजमा चरित्र र चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले सबै वर्ग र समुदायका नागरिकलाई महिला हिंसाविरुद्धको अभियानमा सहभागी हुन आग्रह गरे ।

नगर उपप्रमुख स्यानी चौधरीले अशिक्षालाई महिला हिंसाको मुख्य कारण भन्दै शिक्षित समाज निर्माणको महत्वमा जोड दिइन । उनले महिला हिंसा अन्त्य गर्न शिक्षा र चेतनाको विस्तार आवश्यक भएको बताइन ।

अधिकारकर्मी सुष्मा लामिछानेले लैंगिक हिंसाविरुद्धको अभियानको महत्वलाई उजागर गर्दै तुलसीपुर इलाका प्रहरी कार्यालयमा दर्ता भएका हिंसासम्बन्धी मुद्दाहरूको तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

२०८०/८१ मा १५६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५० वटा घरेलु हिंसासम्बन्धी रहेका छन् । २०७९/८० मा महिला हिंसासम्बन्धी २५५ मुद्दा दर्ता भएको बताइन ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरी, अपांग सुधार समाजका हुमाकान्त कंडेल, दलित सेवा संघका किरण विक, र जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ ।

यसले हिंसाको सिकार भएका व्यक्तिहरूलाई न्याय दिन र समाजमा हिंसाका घटनाहरू न्यूनीकरण गर्न योगदान पुर्‍याउँदै आएको छ ।

महिला, बालबालिका तथा सामाजिक शाखाका सहायक पुष्पा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *