सल्यान,कार्तिक २७ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले तरकारी बिक्री नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कृषि एम्बुलेन्स र कोल्डस्टोर सञ्चालन गरिएको बताए।
व्यापारीले एकैपटक धेरै लान नसकेका तरकारी एक–दुई दिनका लागि भण्डारण गरेर राख्न, विपतमा सडक अवरुद्ध भएका वेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन यसको महत्त्व भएको उनको भनाइ छ।
गत सिजनमा मात्रै कपुरकोट क्षेत्रबाट ४८ लाख ५७ हजार २४६ किलो ताजा तरकारी तथा फलफूल बिक्रीबाट २६ करोड ६४ लाख चार हजार ८६१ रुपैयाँ किसानले हात पारेका थिए।
नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको साझेदारीमा सञ्चालित नवीकरणीय ऊर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत कपुरकोट गाउँपालिकाको सहकार्यमा ५० लाख अनुदानमा उत्पादित तरकारी भण्डारण गर्न विद्युत् तथा सोलारबाट चल्ने कोल्डस्टोर कपुरकोट बजारमा निर्माण गरिएको हो ।

