दाङ, कात्तिक ३ । दाङ तुलसीपुरको अंगेरी खोलामा सल्यान कपुरकोटकी २८ बर्षीया एक महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान कपुरकोट गाउँपालिका – ४ डाँडापानी घर भएकी २८ बर्षीया मिना कठायत शनिबार दिउँसो साढे १ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका – ३ स्थित जंगल बीचको अंगेरी खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
पछिल्लो समय दुई छोरा छोरीको साथमा मिना दाङ तुलसीपुर उपमहानगरपालिका – ३ श्रीगैंमा कोठामा भाडामा बस्दै आएकी थिइन । उनका श्रीमान भने बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहेको भन्ने खुलेको प्रहरी निरीक्षक थापाले बताए ।
मिना दसैंको सयमा छोरा छोरीको साथमा कपुरस्थित घरमा पगेकी थिइन । प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मिना तीन दिन अघि मात्रै सशुरा बुवा कर्णबहादुर कठायतसंगै स्थानीय एक जना संग झारफुक गराउन गएकी थिइन ।
त्यो दिन फर्किएकी उनी शुक्रबार फेरि झारफुक गराउने ठाउँमा जान भनेर घर बाट निस्केकी थिइन । सोही दिनदेखि उनी सम्पर्क बिहिन बनेपछि घर परिवारले खोजी थालेका थिए ।
खोजी गर्ने क्रममा मिना जंगल बीचको अँधेरी खोलामा शनिबार दिउँसो मृत अवस्थमा फेला परेकी थिइन ।
घटना बारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।
मिनाको शव पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइको छ ।