२०८१ असोज २९ गते मङ्गलवार

देउखुरीको यो दाङकै पहिलो ‘नेपाली कागज उद्योग’

एक बर्षमै बेचे एक करोडको कागज


देउखुरी, असोज ५ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट राम्रो फाइदा लिइ रहेका छन् । स्वास्थ्य चौकी भालुबाङमा २५ बर्ष कार्यालय सहयोगीका रुपमा अवकाश पाएपछि जिसीले जिल्लाकै पहिलो कागज उद्योग स्थापना गरेका हुन ।


राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिव ४५ लाख लगानी बाट उनले ‘राप्ती नेपाली कागज उद्योग; २०८० बैशाखमा स्थापना गरेका थिए । जिसीले हाल उद्योगबाट आँफुले मात्रै राम्रो आर्जन गरि रहेका छैनन् बरु स्थानीय १८ जना महिला र पुरुषलाई पनि रोजगारी प्रदान गरेका छन् ।


डेढ बर्षअघि स्थापना भएको उद्योगले स्थानीयस्तरमै पाइने बाबियो स्थानीयबाट खरिद गर्दै आएको छ भने लोक्ता, अघ्रेलीलगायतका कच्चा पदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको छ । बुवा डम्मरले खोलेको उद्योगले राम्रो उप्दान गरि राम्रो मुनाफा लिदै गएपछि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरका रुपमा कार्यरत एक्ला छोरा लालबहादुरले पनि राजिनामा दिएर बुवालाई एक बर्षदेखि सघाउन आएका छन् ।

उद्योगको उत्पादन र कारोवारले सरकारी जागिर बिर्साइदिएको छोरा लालबहाुदरले बताए । उनले भने ‘जागिरबाट महिनामा ३०÷३५ हजार तलव आउँथ्यो । तर अहिले त्यो भन्दा दोब्बर बढी उद्योगबाटै आर्जन भइ रहेको छ ।’

डम्मरका अनुसार उद्योगबाट दैनिक विभिन्न साइजका ४ हजारप्रति नेपाली कागज उत्पादन हुने गर्छ । २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा २०० प्रति हुन्छ । उत्पादिन नेपाली कांगजको बिक्रीमा कुनै समस्या नरहेको डम्मरले बताए । दाङको उत्पादन पूर्वमा काठमाडौ, विराटनगरदेखि पश्चिमको बाँकेको नेपालगंज, सुर्खेत, धनगढीलगायतका ठाउँहरुमा लैजाने गरेका छन् ।
डम्मरका अनुसार गतबर्ष बर्ष एक करोड बढीको कारोवार भएका थियो । त्यसबाट झन्डै ३० लाख रुपैंया उनले खुद बचाएका थिए ।

उद्योगबाट उत्पादित मध्य २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा १० रुपिँया, २५ ग्रामलाई प्रतिगोटा २५ रुपियाँ, ३० ग्रामको कागजलाई प्रति गोटा ३० रुपिँया र ४० ग्रामकोलाई प्रतिगोटा ५० रुपियॉका दरले बिक्री गर्दै आउनुभएको छ ।

सञ्चालकका अनुसार ए–फोर साइजको कागज धेरै बिक्री हुने गरेको छ ।
गाँउमै कागज उद्योग स्थापना भएपछि रोजगारीको अवसर समेत सिर्जना भएको छ । उद्योगमा काम गर्नेहरुले काम अनुसार २० देखि ३५ हजारसम्म महिनामा कमाइ गर्ने गरेका छन् । स्थानीयस्तरको उद्योगमा गाँउमै रोजगारी पाउँदा बालबच्चाको पठनपाठनदेखि घरखर्चका लागि राम्रो आम्दानी भइरहेको राप्ती गाउँपालिका निवासी पार्वती गाहाले बताइन ।

उद्योगबाट आउने पैंशाले घर खर्च चलाउनेदेखि छोराछोरीलाई पढाउन सहज भएको उनले बताइन । कागज उद्योग सञ्चालनका लागि सात कट्ठा जग्गा भाडा लिएका छन् । जस्को बार्षिक एक लाख रुपियाँ तिर्ने गरेका छन् ।

पछिल्लो समय आर्थिकमन्दीका कारण जिल्लामा धेरै व्यापार व्यवसाय धरासायी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गर्दै आएका जिसीले राम्रो आम्दानी गरिरहेको बताउँछन् ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *