दाङ, भदौ ३० । बाँकेमा दुई युवामाथि भएको खुकुरी प्रहारको घटनामा दाङका दुई जनाको संलग्नता देखिएको छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका – १५ का बिशाल बस्नेत र नविन भण्डारी भनिने नबिन गुरुङपनि दाङकै हुन । प्रहरीले गुरुङको ठेगाना बाँकेको राप्ती सोनारी गाउँपालिका – २ उल्लेख गरेपनि उनी दाङ घोराहीका युवा भएको स्रोत बताउँछ ।
जो बिगत चार पाँच बर्षदेखि त्यहाँ बस्दै आएको थिए । यी दुबै जना फरार रहेका छन् । खोजी कार्य तीब्र पारिएको पनि प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले यसअघि पनि खुकुरी र खुँडा प्रहार घटनामा दाङका केही युवाको पनि संलग्ना रहेको आशंका ब्यक्त गर्दै आएको थियो ।
त्यस्तै फरारको सूचिमा बाँकेका थप जना छन् । जस्मा बाँके राप्ती सोनारी गाउँपालिका – २ का ऋृषि भनिने पूर्णचन्द्र देवकोटा र नारायण डाँगी भनिने नारायण डिसी र नेपालगञ्ज उपमहानगरपालिका – १ का आगमनप्रताप सिंह रहेका छन् ।
यसैबीच आइतबार जिल्ला अदालतले खुकरी प्रहार घटनामा संलग्न मध्य वडाध्यक्षसहित पाँचै जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीस दीपक घिमिरेको इजलासले आइतबार बेलुकी थुनामा रहेका राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित , राप्ती सोनारी – २ का ३२ वर्षीय बामे भनिने चुडामणि वली, ३२ वर्षीय रत्न भण्डारी, नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्ता र राप्ती सोनारी – २ कै ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यी पाँचै पक्राउ परे यता जना प्रहरी हिरासतमा राखिदै आएका थिए ।
अदालतका सुचना अधिकारी सुरेश मल्लका अनुसार बिहीबारबाट बयान सुरु भएको थियो भने शुक्रबारदेखि थुन छेक बहस सुरु भएको थियो । शुक्रबार नै पाँच जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरी वालाका तर्फबाट दश जना वकिले बहस सकेका थिए । त्यस्तै प्रतिबादीको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए ।
भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर बाँकेको राप्ती सोनारी गाउँपालिका – ५ बिनौना चोकमा राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षकै सुलभ मल्लमाथि एक समुहले बाटो ढुकेर आक्रमण गरेको थियो । दुबै घाइतेको हालसम्म भारतको लखनउमा उपचार जारी छ । घाइते दुबै नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरण दलका जिल्ला सदस्यहरु हुन । खुकुरी प्रहार घटनामा संलग्न मध्य राप्ती सोनारी – २ का वडाध्यक्ष वली गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए । उनी युवा संघका जिल्ला अध्यक्षपनि हुन ।
प्रहरी घटना भएकै राति भदौ १ गते वडाध्यक्ष ओलीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार फरार रहेका लोकेन्द्र भनिने लोकबहादुर डाँगी प्रहरीले केही दिन पहिले मात्रै नियन्त्रणमा लिएको थियो ।
घाइते मध्य सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले ज्यानमार्ने उद्योग अन्तर्गत भदौ २ गते घटनाका योजनाकार मानिएका वडाध्यक्ष ओलीसहित नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तरगत लिखित रुपमा उजुरी दिएकी थिइन । चेतनाले खुकुरी र खुडा प्रहार घटनामा संलग्न अन्य ४ ÷५ जनाको पहिचान नभएको हुँदा उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन मागपनि गरेकी छिन् ।