तुलसीपुर , भदौ २५ । तुलसीपुर उपमहानगरपालिका – ७ स्थित राप्ती शान्ति उद्यान भित्र निर्मित बोटिङ पुल उद्घाटन कार्यक्रम अन्तिममा आएर रोकिएको छ ।
आज (मंगलबार) बिहान आठ बजेतिर लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बोटिङ पुलको उद्घाटन गर्ने कार्यक्रम थियो । बिगत केही दिन पहिलेदेखि त्यसको तयारी गरिएको थियो । पत्रकारदेखि सबैलाई निम्ता गरिएको थियो ।
मुख्यमन्त्री चेतनारायण आचार्यसहित दाङको क्षेत्र नं. २ (२) बाट प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) उद्घाटन कार्यक्रममा आउने कार्यक्रम तय थियो । तर, अन्तिममा आएर कार्यक्रम हुन सकेन । किन कार्यक्रम रद्द भएको हो ?
राप्ती शान्ति उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्ली भण्डारीले पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका कारण कार्यक्रम हुन नसकेको दोषारोपन गरे ।
नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री चौधरीले आँफु मुख्यमन्त्री छँदा बजेट दिएर निर्माण भएको पोखरी उद्घाटन गर्न अर्कै ब्यक्ति ल्याउने ? भन्दै असुन्तुष्टि जनाएका कारण कार्यक्रम बिथोलिएको नेकपा एमालेका नेतासमेत रहेका अध्यक्ष भण्डारीले बताए ।
चौधरीका मानिसहरुले मुख्यमन्त्रीको सचिवालय लगाएत पर्यटन मन्त्रीलाई समेत आफ्नो निर्वाचन क्षेत्रमा आफैले दिएको रकमले निर्मित पोखरी उद्घाटनमा नआउन आग्रह गरेका कारण कार्यक्रम स्थगित भएको अध्यक्ष भण्डारीले बताए ।
आँफु मुख्यमन्त्री छँदा चौधरीले दुई किस्तामा गरि झन्डै ५० लाख रुपैंया पोखरी निर्माणका लागि बजेट उपलब्ध गराएका थिए ।
सोही बजेटबाट उद्यानको दक्षिण कुनोमा आकर्षक पोखरी निर्माण गरिएको छ । १७ मिटर चौडाइ र ९० मिटर लम्वाइको पोखरी निर्माण पुरा भएपछि हाल त्यहाँ डुँगा सञ्चालन भइ रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले तीन लाख ५४ हजार मूल्य बराबरका दूई वटा डुङ्गा उपलब्ध गराएको हुँदा त्यो उद्घाटन गर्न मुख्यमन्त्री आचार्य आउने कार्यक्रम तय भइ अन्तिममा हुन नसकेको हो ।
उद्यान पदाधिकारीले मुख्यमन्त्री आचार्यको नामसहितको शिलालेख तयार पारी पोखरी छेउमा टाँसी सकेको भएपनि कार्यक्रम सफल हुन नसकेपछि त्यो निकालेर फालिएको अध्यक्ष भण्डारीले बताए ।