दाङ, भदौ २५ । ब्यक्ति हत्या आरोपी लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी लगाएतका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी प्रदेशले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
नेकपा बहुमतका प्रदेश इञ्चार्ज तिलकले एक बिज्ञप्ती जारी गर्दै बाँकेकी निर्मला कुर्मीको बेपत्ता तथा हत्या जस्तो गम्भीर बिषयमा मुख्य आरोपित ब्यक्ति कुर्मीलाई मन्त्रीबाट तत्काल बरखास्त गरि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
सोही मागसहित भदौ २५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम उक्त पार्टीले सार्वजनिक गरेको छ । जस्मा असोज १ गतेसम्म एक लाख हस्ताक्षर संकलन गरि मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउने , भदौ २६ गतेदेखि मन्त्री कुर्मीका सबै खाले सामाजिक कार्यक्रम बहिस्कार गर्ने, भदौ २७ गतेदेखि मन्त्री कुर्मीलाई बाँकेमा प्रबेश निषेध गर्ने उल्लेख छ ।
मन्त्री कुर्मी संगै काँग्रेस सांसद डिबी भनिने सांसद धनबहादुर केसीलाई रुकुम पूर्व जिल्लामा प्रबेश निषेध गर्ने कुरापनि बिज्ञप्तीमा उल्लेख छ ।
रुकुम पूर्वबाट प्रनिनिधित्व गर्ने सांसद केसी भदौ २३ गते अदालतमा उपस्थित भइ कारागार समेत प्रबेश नगरी अदालतले तोकेको एक लाख बढी रकम तिरेर एक दिनमै भदौ २४ गते मुक्त भएका थिए ।
केसीका बिरुद्ध साबिक रुकुम जिल्ला अदालतले ३३ बर्ष पहिले श्रीमतिसंगको कीर्ते मुद्दामा एक बर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेको थियो ।
नेकपा (बहुमत) नेपाली काँग्रेसका मन्त्री कुर्मी र काँग्रेसकै सांसद केसीका बिरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ ।
उनीहरुले यी दुबैको सांसद पद खारेज हुुनुपर्ने मागपनि गर्दैै आएका छन् ।
साथै सांसद केसीलाई उन्मुक्ति दिएको भन्दै रुकुम पूर्व जिल्ला न्यायाधिस लोकबहादुर हमालका बिरुद्ध भदौ २८ र २९ गते सामाजिक रुपमा बहिस्कार गर्ने , हमालको घरमा कालो झण्डा गाड्ने, हमालको भण्डाफोर गर्ने, भदौ ३० गते न्यायाधिस हमाललाई कारबाहीको लागि न्यायपरिषदमा मुद्दा हाल्ने र भदौ ३१ गते न्यायाधिस हमालको पुत्ला जलाउने जस्ता बिरोधका कार्यक्रमरुपनि नेकपा बहुमतले सार्वजनिक गरेको छ ।