तुलसीपुर, भदौ १९ ।
तीजको मुखमा आएर तुलसीपुर उपमहानगरपालिकाले फुटपाथ खाली गराउने नाममा तरकारी र फलफूल बेच्ने ब्यापारीमाथि धरपकड र जोर जबरजस्ती गरेको छ । नगर प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी दलबल सहित अनुगमनमा गएका बेला बुधबार बिहान कतिपय सडकको किनारमा बसेर तरकारी तथा फलफूल व्यवसाय गर्दै आएकाहरु माथि जोर जवरजस्ती भएको हो ।
अनुगमन टोलीले केहीका तरकारी तथा फलफूल जबरजस्ती जफत गर्न खोज्दा नोकझोक भएको थियो । बजार व्यवस्थापक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गएको नगर प्रमुख खड्का नेतृत्वको अनुगमन टोलीले अन्य ब्यबसायीलाई भने सहज र सरल रुपमा सम्झाइ बुझाइ मात्रै गरेको थियो ।
सडक र फुटपाथमा सामान नराख्न आग्रह मात्रै गरेको थियो । उनीहरुका सामान जफत गरिएका थिएनन् । ठूला अर्थात् सटर वा कोठाका व्यवसायीलाई अलग र साना अर्थात् सडक किनारमा फलफूल तथा तरकारी बेच्नेहरुलाई फरक ब्यबहार गरेको देखिएको थियो । अनुगमन टोली सडक किनारमा फलफूल तथा तरकारी बेच्ने साना ब्यापारीहरुलाई उग्ररुप देखाएको थियो ।
अनुगमन टोलीले बरण्डामा आलु राखेका किराना ब्यबसायी दिपबहादुर वलीको १८ हजार मूल्य बराबरको ३ क्विन्टल आलु जफत गरेको थियो । त्यस भन्दा पहिले रुकुम पश्चिम घर बताउने र सडक किनारमा तरकारी राखेर बेच्न बसेका मध्य खिमबहादुर वलीको फूल काउली जफत गरेको थियो । त्यही नजिकको सडक पेटी पूरै छोपेर स्थापना गरिएको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको टिकट काउन्टर भने दिउँसो हटाउने भन्दै केही चलाइएको थिएन ।
अनुगमन टोलीले बाहिनी चोक दक्षिणको पाण्डे जलपान गृह अगाडिको फलफूल ब्यापारीको फलफूल जफत गर्दा पनि दुबै पक्षका बीचमा नोकझोक भएको थियो । उनीहरुले राज्यले आफू जस्ता थुरै पूँजी भएका र साना ब्यबसायीलाई गरी खाने वातावरणसमेत बन्द गराउन खोजेको भन्दै गुनासो गरेको थिए ।
तर, बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको र अटेरी गर्नेहरुको सामान मात्रै जफत गरिएको नगर प्रमुख खड्काले बताएका थिए । व्यापारीले सडकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भएको भन्दै उनले व्यापार गर्नेहरुले सटरमा ब्यापार गर्नुपर्ने र स्थानीय सरकारलाई कर तिर्नुपर्ने बताएका थिए ।
सडकपेटीमा नभई कोठा भाडामा लिएर दर्ता गरी ब्यापार गर्न तथा नगरलाई कर तिर्न मेयरले आग्रह गर्दै हिडेका थिए । अबदेखि बजारमा सटर भन्दा बाहिर सामान राख्न नदिइने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले बताएकी थिइन । सचेत गराइएको भन्दै उनले फेरि अनुगमनाम जाँदा सटर भन्दा बाहिर सामान राखेको पाइएमा जफत गरी जरिवाना समेत गरिने चेतावनी दिएकी थिइन ।
सडक पेटीमा सामान राख्नाले यात्रु सडकमा हिडुनुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न पनि यस्तो कदम चालिएको उपप्रमुख स्यानी चौधरीले बताइन । तुलसीपुर उद्योग वाणिज्य संघका एकजना पदाधिकारीले भने ‘ग’ लाइनमा फुटपाथ नै नरहेको र बरण्डामा सामान राखेर ब्यवसाय गर्दा पनि राज्यले दादागिरी शैलीमा प्रस्तुत भएको बताए ।
उनले ‘क’ लाइनमा मात्रै फुटपाथ रहेको भन्दै हालसालै ‘ख’ लाइनमा पनि प्रदेश सरकारले फूटपाथ निर्माण गरेको हुँदा तुलसीपुरमा त्यो बाहेक अयन्त्र कतै फुटपाथ नरहेको दाबी गरे । ‘नगरले पहिला ब्यबस्थित फूटपाथ बनाउन तर्फपनि ध्यान दिनु पर्छ कि पर्दैन’ उनले भने ‘आफूले सिन्को नभाँच्ने तर फुटपाथका साना ब्यबसायीका सामान खोस्ने प्रवृत्ति सही हैन ।’
त्यस्तै उनले ब्यबसायीलाई तर्साउन मौसमी रुपमा चाडपर्वको समयमा मात्रै हुने अनुगमनको आशय सही मान्न नसकिने बताएका थिए । कतिपय ठाउँमा पत्रकारहरु समेत साना ब्यवसायीलाई औंला सोझ्याउँदै झोक्किएको भन्दै पत्रकारले आफ्नो पेशागत मर्यादा भुल्न नहुने पनि उनले बताएका थिए ।