तुलसीपुर , भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको पक्षमा ७० जना सांसदले बिश्वासको मत दिएका छन् ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसद छन् । आचार्यले प्राप्त गरेको संख्या दुई तिहाई भन्दा बढी हो ।
साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले मंगलवार प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत मागेका थिए ।
दश राजनीतिक दल र एक स्वतन्त्र सांसद लुम्बिनीमा छन् । ती मध्य मुख्यमन्त्री आचार्यको विपक्षमा नेकपा (माओवादी केन्द्र)का १० र नेकपा (एकीकृत समाजवादी पार्टी)का १ जना गरि ११ सांसदले मात्रै मत जाहेर गरेका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ गरि चार सांसद भने मतदानमा तटस्थ बसेका थिए ।
सत्तारुढ दलहरु मध्य प्रमुख घटक नेकपा एमाले, नेपाली कांग्रेससहितका साना दलहरु गरि सात दलले सोमबार नै मुख्यमन्त्री आचार्यको पक्षमा बिश्वासको मत दिन ह्वीप जारी गरेका थिए ।
एमाले संसदीय दलका नेतासमेत रहेका आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजबादी पार्टीका ३, जनता समाजवादी पार्टीका २ , जसपा नेपालका १ र १ स्वतन्त्रसमेत गरि ७० जना सांसदले मत दिएका हुन ।
तत्कालिन समय एमाले लुम्बिनी प्रदेशका संसदीय दलका उपनेता आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ब्यबस्था छ ।