२०८३ भाद्र २७ गते शनिवार

गाउँपालिका कृषिमा आत्मनिर्भरः अध्यक्ष चौधरी


दिप्तीशिखा चौधरी
दंगीशरण, जेठ २७ ।
दंगीशरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीले कृषकहरुलाई कृषि पेशाबाट आत्मनिर्भर हुन आग्रह गरेका छन् । दुःखबाट नै सुख प्राप्त हुने भन्दै उनले आफ्नै खेतबारीमा अन्न भण्डारण गरी आयआर्जनमुखी हुन आग्रह गरे । वडाको आयोजनामा किसानहरुका लागि कर्णसेलर मेसिन वितरण कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले आफूले कृषकहरुका लागि आवश्यक पर्ने जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको बताए ।

उनले भने ‘तपाईहरु वडालाई कृषि क्षेत्रको रुपमा विस्तार गर्दै जानुहोस् म लगानी गर्न तयार छु । घरमा खानका लागि मात्र नभई कृषि क्षेत्रबाट आत्मनिर्भर र ब्यवसायीक बन्नका लागि अगाडि बढ्नुस् ।’ साथै अध्यक्ष चौधरीले वितरण गरिएका मेसिनहरुको सहिरुपमा सदुपयोग गर्न आग्रह गरे । उक्त अवसरमा कृषक धर्मराज खड्काले कृषकहरुको मागलाई मध्यनजर गर्दै मेसिन वितरण गरेको भन्दै खुसी ब्यक्त गरे ।

हातले गर्ने काम अब मेसिनबाट गर्दा समयको बचत हुनुका साथै छिटो र छरितो रुपमा काम सम्पन्न हुने बताए । यस्तै कृषक कर्ण बहादुर चौधरीले वडाले किसानहरुका लागि सबै किसिमका मेसिन उपलब्ध गराउन आग्रह गरे । सबै बालीका लागि मेसिनबाट काम छिटो सकिने भन्दै उनले यस्तै सहयोग पाएपछि आफूहरुलाई कृषि काम गर्न सहज हुने बताए ।

उनले भने ‘हामी कृषकहरुलाई दुःख छ, आधुनिक जमानामा मेसिन नभएपछि कसरी आत्मनिर्भर हुने ? साँझ बिहान खानका लागि काम गर्न त धौँधौ छ कसरी अन्नबाली बेच्ने ? अब वडाले नै सबै बालीलाई सहयोग पुग्ने मेसिन दिनुप¥यो ।’

कार्यक्रममा वडा नम्बर १ भित्रका चमेली कृषक समूह, त्रिमूर्ति कृषक समूह, शिव मन्दिर कृषक समूह, कनरिया फुला कृषक समूह, काउली कृषक समूह, बाढी पीडित कृषक समूह, हरियाली कृषक समूह, सिर्जना कृषक समूह, देउराली कृषक समूह, चाँदनी कृषक समूह, सिद्धबाबा कृषक समूह र शिवशक्ति कृषक समूह गरी १२ वटा कृषक समूहहरुलाई कर्ण सेलर मेसिन वितरण गरिएको हो ।

कृषक समूहहरुलाई वडा अध्यक्ष श्रीप्रसाद चौधरीले हस्तान्तरण गरेका थिए । उक्त अवसरमा वडा सदस्य जानकी चौधरी, महिला सदस्य नन्दा कुमारी बस्नेत, दलित महिला सदस्य अमृता विकलगायतको सहभागिता रहेको थियो । दंगीशरण गाउँपालिकाकाको ०७५÷७६ को बार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त मेसिन वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव दिपक केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *