२०८३ असार १ गते सोमवार

विरामीले खचाखच विजौरी आर्युवेद अस्पताल


राजेश खत्री,
दाङ, जेठ २६ । दाङको विजौरी स्थित प्रादेशिक आर्युेवेदिक चिकित्सालयमा आजभोलि मु्लका विभिन्न भूभाग र छिमेकी देश भारतवाट समेत विरामी उपचारको लागि आउने गरेका छन् ।

अस्पतालमा पछिल्लो समय पायल्स, फिसर, फिस्टुला जस्ता रोगहरुको क्षारसुत्र विधिद्धारा उपचार हुन थालेपछि यो अस्पतालमा विरामीको संख्या बढेको हो । अस्पतालका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुर आउनु भन्दा पहिले यो अस्पतालमा एक डेढ बर्ष अगाडि सम्म मुस्किलले विरामी देख्न पाइन्थ्यो । अस्पताल प्राय सुनसान हुन्थ्यो । विरामी कम चिकित्सक धेरै हुन्थे । त्यही भएर धेरैले यो अस्पताललाई भूत बंगलाको संज्ञा दिने गर्थे । नकारात्मक टिप्पनी मात्रै हुन्थ्यो ।

यस्तै अवस्थामा डेढ बर्ष अघि निमित्त निर्देशकको रुपमा डा. रामकामेश्वर ठाकुर आए । जस्ले गफ भन्दा धेरै काम गरेर देखाए । शुक्रवार बेलुका हामी साढे ५ बजेसम्म पनि जो उपचारमै तल्लिन थिए । ठाकुर र उनको टिमको मेहनतले अस्पताल आज फेरि खचाखच विरामीले भरिन थालेको छ ।

आज यो अस्पतालमा दाङका आसपासका जिल्लाहरु मात्रै हैन सुदुर पश्चिम र पूर्ववाट समेत उपचारका लागि आउने गरेका छन् । कैलाली टिकापुरकी २५ बर्षीया रीता चौधरी र सल्यान त्रिवेणी गाउँपालिका निवासी ४८ बर्षीय कृष्णबहादुर डाँगीले पछिल्लो समय विगत एक महिनादेखि विजौरी अस्पतालमा पायल्सको उपचार गराउँदै आएको जानकारी दिए । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीको प्रादेशिक आर्युेवेदिक चिकित्सालयमा उपचाररत उनीहरुले उपचारपछि लाभ लिइरहेको बताए । यसअघि विभिन्न स्थानमा उपचार गराएपनि रोग निको नभएको भएपनि हाल विजौरीमा उपचार गराउँदा रोग सञ्चो हुँदै गएको उनीहरुले बताए ।

२०४८ सालमा स्थापना भएको यो अस्पतालमा कुनैदिन विरामीको अत्यधिक चाप हुन्थ्यो । पछि यो राजनीतिक दलहरुका कार्यकर्ताको भर्ती केन्द्र जस्तै बन्यो । यहाँ उपचार कम राजनीति धेरै हुन थाल्यो । यति सम्म कि,अस्पतालको मुल गेट नै बन्द गरेर यातायात प्रालीका काउन्टरहरु स्थापना गरिदा पनि कसैले वास्ता गरेन । मुख्य गेटमा यातायात प्रालीहरुले गरेको अतिक्रमण हटाउन आज अस्पताल प्रशासन लागि परेको छ । उपचारत विरामीले पनि डाक्टरको मुक्त कण्ठले प्रशंशा गरे । फिस्टुलाको उपचार गराउँदै आएका तुलसीपुर निवासी नेपाल अटोमेकानिक्स महासंघका केन्द्रीय अध्यक्ष यमप्रशाद भुसालले डा. ठाकुरको मेहनत हेर्दा जागिर खान भन्दापनि सेवा गर्नको लागि आएको जस्तो अनुभूति गरेको बताए । उनले डाक्टर ठाकुर लगाएतको टिमले रातदिन विरामीको सेवामा खटिने गरेको जानकारी दिए ।

अहिले धेरै मानिसहरु पायल्स, फिसर र फिस्टुला जस्ता रोगहरु बाट ग्रसित छन् । मलद्धारमा हुने रोग भएका कारण लाज श्रम मानेर धेरैले रोग लुकाएर राख्न खोज्छन् । तुलसीपुर ७ मोतिपुरकै ५८ बर्षीया धनकुमारी ढकालले पनि २६ बर्षदेखि त्यही गर्दै आएकी थिइन । झनै समस्या बल्झिदै गएपछि बल्ल उनको चेत खुलेछ । हाल उनीपनि विजौरीमा उपचाररत छिन । उनले आँफुजस्तै अन्य दिदी बहिनीहरुलाई रोग नलुकाउन र समयमै उपचार गराउन आग्रह गरिन ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीमा दुई हजार मै पायल्सको अप्रेशन गर्न सकिन्छ । जवकी त्यही उपचारको नाममा बाहिरी हजारौं तिर्नु पर्छ । विजौरी अस्पतलामा दैनिक १०० रुपैंया बेड चार्ज मात्रै छ । त्यसैले यो अस्पताललाई धर्मशाला जस्तै सर्वशुलभ छ ।

विजौरीमा आर्युेवेदिक पद्धति वाट अन्य दिर्घरोगहरुको पनि उपचार हुँदै आएको छ । ओपिडी सेवापनि छ । एक्सरे,अल्ट्रा साउन्डको सुविधा छ । जहाँ अग्निकर्मको र पंचकर्म विधिवाट पनि उपचार हुने गरेको छ । त्यसले गर्दापनि यहाँ विरामीको आकर्षण बढको जानकारहरु बताउँछन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *